सर्लाही । रक्षामन्त्री हरिप्रसाद उप्रेती मन्त्रीमा नियुक्त भएपछि बुधबार पहिलो पटक नेपाली सेनाको एमाआई–१७ हेलिकप्टर चढेर गृह जिल्ला सर्लाही आएका छन् ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा एमाले नेता उप्रेती सर्लाही क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । उनी मंसिर ३ गते मन्त्रीपरिषद् विस्तार गर्दा रक्षामन्त्रीमा नियुक्त भएका हुन् ।
मन्त्री भएपछि उप्रेती सेनाको हेलिकप्टरमार्फत निर्माणाधीन काठमाडौँ–तराई दु्रतमार्गको निरीक्षण पश्चात गृह जिल्ला सर्लाही आएका हुन् । उप्रेती सवार हेलिकप्टर बरहथवा नगरपालिका ११ हीरापुर खेल मैदानमा अवतरण गरेको थियो ।
त्यहाँ अवतरण गरे लगत्तै उनले बरहथवा ९ मूर्तियामा आएर छेठौँ मुक्तेश्वर महोत्सवको उद्घाटन गरेका छन् । ऐतिहासिक धार्मिक स्थल मुक्तेश्वर बाबाधाम मन्दिर नजिकको चौरमा वर्षेनी महोत्सव लाग्ने गरेको छ ।
महोत्सवलाई रक्षामन्त्री उप्रेती, बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवालगायतले सम्वोधन गरेका छन् । रक्षामन्त्री उप्रेती अब शुक्रबारसम्म आफ्नो निर्वाचन क्षेत्रमा हुने विभिन्न कार्यक्रममा सरिक हुने छन् ।
उनी आगामी शनिबार बिहान काठमाडौँ फर्किने बुझिएको छ ।