जनकपुरधाम । नेकपा माओवादी केन्द्रका दुई जना प्रदेशसभा सदस्यले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मधेश प्रदेशसभामा निर्वाचित माओवादीबाट समानुपातिकतर्पm निर्वाचित दुई जना सांसदले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
नेकपा माओवादी केन्द्रबाट समानुपातिकतर्पm निर्वाचित माला कर्ण र मो. रजी हैदरले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलले दुवै जनालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
सर्वोच्च अदालतमा दुवै जना विरुद्ध मुद्दा परेपछि शपथ ग्रहण रोकिएको थियो । सर्वोच्चको आदेश आएपछि दुवै जनाले बुधबार शपथ ग्रहण गरेका हुन् ।
कर्णले मैथिली र हैदरले उर्दु भाषामा शपथ लिएका हुन् । नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानुन बमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था छ ।
मधेश प्रदेशमा प्रत्यक्ष र समानुपातिकतर्पm निर्वाचित प्रदेशसभा सदस्यहरुले गएको पुस १५ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । मुख्यमन्त्री सरोज कुमार यादवको उपस्थितिमा उनीहरुले पथ तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
१ सय ७ सदस्य रहेको प्रदेशसभामा उनीहरु भने शपथ ग्रहण समारोहमा सहभागी भएका थिएनन् ।
नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले शपथ ग्रहण गराएका थिए । उनीहरुले शपथ ग्रहण गरेसँगै प्रदेशसभाले पूर्णता पाएको छ । यसका साथै माओवादी केन्द्रको मधेश प्रदेशसभामा ९ सदस्य पुगेको छ । सर्लाहीका एक जना स्वतन्त्र सांसद केही दिन अघि नै नेकपा माओवादी प्रवेश गरिसकेका छन् । उनी प्रवेश गरेपछि माओवादी नेकपा एकीकृत समाजवादी पार्टीभन्दा अगाडि बढेको छ । एकीकृत समाजवादी पार्टीको मधेश प्रदेशमा ७ सिट छ । माओवादी केन्द्र सत्ता साझेदार दलको भूमिकामा रहेको छ ।