काठमाण्डौ । मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका मधेशी शहीदहरु प्रति प्रतिनिधिसभामा श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रतिनिधिसभामा बिहीबार सहभागी सांसदहरु उठेर मधेशी शहीदको सम्मान एक मिनेट मौन धारण गरेका थिए ।
जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतले बलिदानी दिवसलाई सम्झिदै रोष्टमबाटै उपस्थित सांसदहरुलाई मधेशी शहीदको सम्झनामा उठेर एक मिनेट मौन धारण गर्नको लागि आग्रह गरेका थिए । उनको कुरा सुनेर मधेशवादी दलका सांसद, नेपाली कांग्रेस लगायत अन्य दलका मधेशी र पहाडी मुलका केही सांसदहरु उठेर मौन धारणमा सहभागी भए ।
डा. राउतको यो कदमको मधेशमा प्रशंसा भएको छ । २०६३ मा भएको प्रथम मधेश जनविद्रोह विभिन्न समयमा तीन पटक हुँदा सयौ मधेशी सपुतले अधिकारको लागि शहादत प्राप्त गरे । मधेश विद्रोहको १६ वर्ष बितेपछि २०७९ को माघ ५ गते प्रतिनिधिसभामा मधेशी शहीदप्रति मौन धारण गरिएको हो ।
मधेशीसँगै केही पहाडी मुलका सांसदहरुले मौन धारण गरिरहदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् उर्जा मन्त्री राजेन्द्र लिंगदेन लगायत राप्रपा, नेकपा माओवादी, नेकपा एमालेका सांसदहरु भने चारैतिर फर्केर उठेकोलाई हेर्दै थिए । मधेशीको सम्मानमा गरिएको मौन धारणमा प्रधानमन्त्री र उपप्रधानमन्त्री सहभागी नहुँदा मधेशमा विरोध गरिएको छ ।
मधेशी शहीदप्रति समवेदना प्रकट गरेपछि जनमत अध्यक्ष डा. राउतले नेपालमा केवल पदका लागि मात्र राष्ट्रिय सहमतिका कुरा उठाइने गरेको बताए । बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै केवल पदका लागि मात्र राष्ट्रिय सहमतिको कुरा उठ्ने गरे पनि देश संकटमा पर्दा भने सबै राजनीतिक दल मौन बस्ने गरेको बताए ।
राउतले राष्ट्रिय सहमति केका लागि भन्दै दलहरूलाई प्रश्न गर्दै भने, ’राष्ट्रिय सहमति केका लागि हो ? खालि पदका लागि राष्ट्रपति, प्रधानमन्त्री र सभामुख निर्वाचनका लागि राष्ट्रिय सहमति हो कि देश संकटमा पर्दा पनि हो ? देश संकटमा पर्दा राष्ट्रिय सहमति खोइ त ?’ तराईमा शीतलहरको प्रभाव र देशको अर्थतन्त्र संकटमा परिररहेको उल्लेख गर्दै उनले भने, ’तराई शीतलहरले ग्रसित छ, देशको अर्थतन्त्र संकटमा पर्दा राष्ट्रिय सहमति हुन्छ कि हुन्न ? यो सरकार र संसद्ले नश्लवादी चिन्तन देखाइरहेको छ ।’
मधेसी दलहरूलाई पाखा लगाउन खोजिएको उल्लेख गर्दै उनले भने, ’कस्तो खालको राष्ट्रिय सहमति हो ? मधेसी पार्टीलाई धकेलेर खोज्नुभएको हो । हामी दलभन्दा माथि उठ्छौँ तर तपाईंहरु एउटा अनुहार, जातिको मुखौटोभन्दा माथि उठ्न सक्नुहुन्छ कि हुँदैन ? त्यो ठूलो कुरा हो ।’
मधेस आन्दोलनका सहिदहरूलाई अझै पनि सरकारले सम्मान नदिएको उनको आरोप थियो । सरकार आफैले सहिद घोषणा गरे पनि मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्मानमा भने ध्यान नदिएको उनले बताए ।