जनकपुरधाम । मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद रमेश महतोको सम्झनामा माघ ५ गते मधेश प्रदेश सरकारले विशेष कार्यक्रम गर्ने भएको छ ।
सिरहा नवराजपुर गाउँपालिका वडा नम्बर ३ स्थित मझौरा निवासी १६ वर्षीय रमेश महतोको २०६३ माघ ५ गते मृत्यु भएको थियो । गाउमै रहेको आधारभुत जनता माध्यमिक विद्यालय, जगतपुरबाट कक्षा ८ सम्म अध्ययन गरी थप अध्ययन गर्न लहान पुगेका थिए । त्यहाँको मनोकामना ईंग्लिस बोर्डिंग स्कुलमा अध्ययनरत महतोले ९ कक्षा उत्तीर्ण गरि १० कक्षामा नामाकांन गराएर एसएलसीको तयारीमा थिए । तर माघ ५ को दिन प्रहरीले चलाएको गोली लागेर रमेश महतोले शहादत प्राप्त गरेका थिए । महतोले शहादत प्राप्त गरपछि मधेशमा आन्दोलन चरमसीमामा पुगेको थियो । उनको सम्झनामा मधेश प्रदेश सरकारले बिहीबार मधेश भवनमा शहीद परिवार र घाइतेको सम्मान कार्यक्रम आयोजना गर्न लागेको हो । मधेश प्रदेश सरकार गठन भएदेखि प्रत्येक वर्ष माघ ५ को दिन बलिदानी दिवस मनाएर शहीद परिवार र घाइतेहरुलाई आर्थिक सहयोग गर्दै आएको छ । बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक विदा समेत दिएको छ ।