काठमाण्डौ । प्रतिनिधिसभाको सभामुख पदका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले) का सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराए । उनको प्रस्तावकमा एमालेका सांसद सुवास नेम्वाङ, समर्थकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन थिए ।
विसं २०१३ मा ताप्लेजुङमा जन्मेका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद थिए । उनी प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका छन् । उनले विद्यार्थी सङ्गठनबाट राजनीति शुरु गरेका थिए । उनी विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य भए । घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरिसकेका छन् । हाल उनी एमालेको स्थायी समिति सदस्य हुन ।
यता, प्रतिनिधिसभाको सभामुख पदका लागि नेपाली कांग्रेसका नेत्री ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतकको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला थिए । उनको जन्म २०१६ सालमा दाङमा भएको थियो । उनी समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित भएका हुन् ।
न्यौपाने नेपाली कांग्रेसको १२औँ महाधिवेशनदेखि केन्द्रीय सदस्यका रुपमा रहेका छन् । उनी २०६४ र २०७० सालको संविधानसभा सदस्य थिए । तत्कालीन व्यवस्थापिका–संसद्मा उनी पार्टीको सचेतक थिए । विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका उनी नेपाल महिला सङ्घको केन्द्रीय उपाध्यक्ष भइसकेका छन् ।
बुधबार अपराह्न १ देखि ४ बजेसम्म सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने कार्यतालिका छ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन बिहीबार(आज) बिहान ११ बजे हुँदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्न निर्वाचन तालिका प्रकाशित गर्न निर्देशन दिएको थियो ।
सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने सवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्नेछ । नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रुपमा प्रतिनिधिसभा रहिआएको छ ।