मलगंवा । सर्लाही क्षेत्र नं. ३ बाट निर्वाचित सांसद हरिप्रसाद उप्रेती रक्षामन्त्री नियुक्त भएका छन् ।
मंगलबार मन्त्रीपरिषद् विस्तार गर्दा प्रतिनिधि सभाका सदस्य उप्रेती रक्षामन्त्रीमा नियुक्त भएका हुन् । बरहथवा नगरपालिकाको पिप्राभित्ता निवासी उप्रेती मंसिर ४ मा सम्पन्न निर्वाचनमा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
उप्रेतीले नेकपा माओवादी केन्द्रका नरेन्द्र साह कलवारलाई ७ सय ७० मतले पराजित गरेका थिए । निकै कडा प्रतिस्पर्धामा उप्रेतीले ३२ हजार ९३८ र साहले ३२ हजार १६८ मत प्राप्त गरे ।
उप्रेती २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा सर्लाही क्षेत्र नं. ३ बाट नै निर्वाचित भएका थिए । एमालेले २ पटक सांसद भइसकेकालाई मन्त्रीमा प्राथमिकता दिँदा प्रचण्ड सरकारमा उप्रेती रक्षामन्त्रीमा नियुक्त हुन सफल भएका हुन् ।
स्रोतका अनुसार उप्रेती सामान्य ‘लबिङ’ मै मन्त्री बनेका छन् । यसअघि आफ्ना सांसदलाई मन्त्री बनाउन जिल्लाका नेताहरु शिर्षस्त नेताहरुकहाँ ‘डेलिगेसन’ नै जान्थे ।
उप्रेती नजिकका नेताहरुका अनुसार उनी एमाले अध्यक्ष केपी शर्मा ओलीले रुचाएर मन्त्रीमा चयन भएका हुन् । उप्रेती नेकपा एमालेको मधेश प्रदेश कमिटीका सदस्य हुन् ।
सर्लाहीबाट क्षेत्र नं. २ का सांसद महिन्द्र राय यादव पनि मन्त्री बन्ने चर्चा थियो । तर, यो पटक उनी मन्त्रीको ‘लिष्ट’ मा परेनन् ।
२०६४ पछि हरेक सरकारमा सर्लाहीका कोही न कोही सांसद मन्त्री रहँदै आएका छन् । त्यसो हुँदा पनि जिल्लाको विकासले खासै गति लिन नसकेको भन्दै जनमानसमा गुनासो सुनिने गर्छ ।