जनकपुरधाम । मधेश प्रदेशसभा सभामुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।
प्रदेशसभाको मंगलबारको बैठकमा मत विभाजन गर्दा मण्डलले उपस्थित सङ्ख्या एक सय तीनमध्ये ७४ मत प्राप्त गरेका छन् । १०७ सदस्यीय प्रदेश सभामा बहुमत पु¥याउन ५४ मत आवश्यक पर्छ । उनको विपक्षमा २९ मत परेको छ । ४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा उनी नेकपा (एमाले) का तर्फबाट धनुषा निर्वाचन क्षेत्र नं १(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
मण्डललाई नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी आठ दलले समर्थन गरेका थिए ।
सभामुखका लागि नेपाली कांग्रेसका जङ्गीलाल राय यादव पनि प्रतिस्पर्धामा थिए । उनलाई नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेको थियो ।