काठमाडौँ । सरकारले बहुप्रतिष्ठित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने भएको छ ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मंगलबार मन्त्रालयमा पदबहाली गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ‘गेम चेन्जर’ परियोजना भएकाले निगगढमा विमानस्थल बन्ने विश्वास व्यक्त गरे । उनले भने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न जरुरी छ, त्यसलाई कसरी तीव्र गतिमा कसरी अगाडि बढाउन सकिन्छ भनेर हाम्रो तर्फबाट सम्पूर्ण बल लगाइन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका क्रममा राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शीघ्र अघि बढाइने बताएका थिए । सरकारले बाराको निजगढमा प्रस्तावित निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरिसकेको छ । वातावरणको विषयले निर्माणमा विलम्ब भएको उक्त आयोजना पुनः चर्चाको विषय बनेको छ ।
मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७१ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (गत जेठ २ गतेदेखि) सञ्चालनमा आएको छ । तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि व्यावसायिक उडान सुरु भइसकेको छ ।