जनकपुरधाम । भारतीय रेलवेले तीर्थयात्रीहरूका लागि जनकपुरधामसम्म विशेष रेल चलाउने भएको छ । जसले उत्तर प्रदेशको अयोध्यालाई जनकपुरसँग जोड्नेछ । तीर्थयात्रीहरू भारत गौरव डिलक्स एसी टुरिष्ट ट्रेनबाट नन्दीग्राम, सीतामढी, काशी र प्रयागराज जान सक्नेछन् । अयोध्याबाट खुल्ने रेल जनकपुरधामसम्म आउने छ । जनकपुरधाम आउने तीर्थयात्रीहरु रात्रि विश्रामपछि भोलीपल्ट फर्किन छन् । यसअघि केही महिना अगाडि अयोध्याबाट रेल जनकपुर आइपुगेको थियो । भगवान श्रीरामको जन्मस्थल अयोध्यालाई सोभैm सीताको जन्मस्थल जनकपुरधामसित जोड्न भारतले केही महिना अघिदेखि नै प्रक्रिया अघि बढाएको हो । नेपालले चासो नलिएपनि पर्यटकीय दृष्टिकोणले दुवै शहरलाई जोड्ने योजना भारतले अघि बढाएको हो ।
यही फागुन १७ गतेदेखि रुट सञ्चालनको तयारी भइरहेको छ । सात दिनको यात्रामा जनकपुर र वाराणसी (एक रात) अयोध्या, सीतामढी र प्रयागराजमा दिन बिसौनीमा होटल बस्ने समावेश छ । रुटमा रेल र बस यात्रा समावेश हुनेछ, सबै समावेशी मूल्यहरू प्रति व्यक्ति ३९,७७५ बाट सुरु हुनेछ । ट्रेनमा चार फर्स्ट एसी कोच, दुई सेकेन्ड एसी कोच, राम्रोसँग सुसज्जित पेन्ट्री कार र दुईवटा रेल रेष्टुरेन्टहरू छन् । यसमा १५६ जना पर्यटक बोक्न सक्नेछन् र प्रत्येक कोचमा सीसीटीभी क्यामेरा र सुरक्षा गार्डहरू छन् । यो सम्पूर्ण ट्रेनको लागि एक इन्फोटेनमेन्ट प्रणाली संग सुसज्जित छ । डिलक्स गाडीका कोचहरूमा नुहाउने क्युबिकल, सेन्सरमा आधारित वाशरूम फंक्शन र खुट्टा मसाज गर्ने सुविधा पनि रहने भारतीय संचार माध्यमहरुले जनाएको छ ।