शहीद परिवारलाई दुई÷दुई लाख, घाइतेलाई पनि सहयोग गरिने
जनकपुरधाम । मधेश प्रदेश सरकारले माघ ५ गते विशेष कार्यक्रम गरी मधेश बलिदानी दिवस मनाउने भएको छ । मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको माघ ५ गतेलाई मधेश प्रदेश सरकारले बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।
मधेश प्रदेश सरकारले यसवर्ष बलिदानी दिवसको अवसर पारेर राजधानी जनकपुरधाममा विशेष कार्यक्रम गर्ने भएको छ । यसअघि २०७८ माघ ५ गतेको सप्तरी सदरमुकाम राजविराजमा विशेष कार्यक्रम गरिएको थियो । मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेको शहीद परिवारलाई जनही नगद दुई लाख र एक थान ब्लैंकेट वितरण गर्ने तयारी रहेको मधेशी शहीद प्रतिष्ठानले जनाएको छ ।
यस्तै मधेश आन्दोलनका क्रममा घाइते र आपाङ्गता भएकालाई समेत आर्थिक सहायता प्रदान गरिने भएको छ । उनीहरुलाई २५ हजारदेखि दुई लाखसम्म आर्थिक सहयोगको तयारी रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार बलिदानी दिवस मधेश भवनको कभर्डहलमा विशेष कार्यक्रमको आयोजना गरि मनाउने तयारी छ । मधेशमा विभिन्न साल गरी तीन पटक भएको आन्दोलनको क्रममा ६३ जनाले शहादत प्राप्त गरेका छन् । उनीहरुको परिवारलाई प्रत्येक वर्ष भैm यस वर्ष पनि सम्मानसहित आर्थिक सहयोगको तयारी रहेको प्रतिष्ठानका कार्यकारी निर्देशक छठु चौधरीले बताए । चौधरीका अनुसार नवनियुक्त मन्त्री संजय कुमार यादवका प्रमुख आतिथ्यमा कार्यक्रमको तयारी थालिएको हो । नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादव कार्य व्यस्तताका कारण जनकपुरबाट बाहिर रह्ने भएकोले प्रदेशका मन्त्रीको उपस्थितिमा बलिदानी दिवस मनाउने तयारी अघि बढाएको प्रतिष्ठानका सदस्य शहीद परिवार रामनरेश यादवले बताए ।
२०७४ सालमा लालबाबु राउत नेतृत्वमा मधेश प्रदेश सरकार गठन भएपछि २०७५ सालदेखि प्रत्येक वर्ष माघ ५ गते विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
२०७५ साल माघ ५ गते सिरहाको लहानमा विशेष कार्यक्रम आयोजना गरेर प्रदेश सरकारले शहीद परिवारको लागि एक परिवार एक रोजगार कार्यक्रमको घोषणा गरेको थियो । शहीद परिवारका सदस्यहरु प्रदेश सरकार मातहतको अड्डामा कार्यरत्त रहेका छन् । २०७६ सालमा वीरगंजमा आयोजित विशेष कार्यक्रममा शहीद परिवारलाई नगद २५ हजार र सम्मानपत्र प्रदान गरिएको थियो भने २०७७ माघ ५ गते जनकपुरको उद्योग वाणिज्य संघमा आयोजित विशेष कार्यक्रममा तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले आर्थिक सहयोग र दोसल्ला ओढाएर शहीद परिवारलाई सम्मान गरेको थियो ।
२०७८ साल माघ ५ गते सप्तरीको राजविराजमा आयोजित विशेष कार्यक्रममा प्रदेश सरकारले शहीद परिवारलाई तीन÷तीन लाख नगद सहयोग गरेको थियो भने घाइते र अपांगता भएकाहरुलाई २० हजारदेखि तीन लाखसम्म आर्थिक सहयोग गरिएको थियो । राउत नेतृत्वको सरकारले प्रदेशका शहीद परिवार र घाइतेको अवस्थाको तथ्यांक सकंलन गरेर उनीहरुको भरणपोषणको व्यवस्था गर्ने कार्य अघि बढाएका थिए । मुख्यमन्त्री राउतको शहीद परिवारको भरणपोषणको व्यवस्था गर्दै भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उनीहरुलाई दुधालु भैसी वितरण गरेको थियो । नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकारले पनि बलिदानी दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी अघि बढाएको हो ।
बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशमा सार्वजनिक विदा दिने गरेको छ ।
मधेश आन्दोलन १६ वर्ष पूरा भएको अवसरमा बलिदानी दिवस मनाउने तयारी छ ।
प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते औपचारिक रुपमै बलिदानी दिवस मनाउँदै आएको छ ।