चालक दलका चार सदस्यसहित ७२ जनाको मृत्यु
काठमाण्डौ । सेती नदीको खोंचमा दुर्घटना भएको यति एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति निकालेर आइतबार अपराह्न साढे ४ बजेसम्ममा ६८ शव दुर्घटनास्थलबाट निकालिएको जानकारी दिएको हो । केन्द्रका अनुसार अन्य शव खोजी जारी छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले सेती नदीको खोंचमा धेरै तल विमान खसेका कारण क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको बताए ।
समन्वय केन्द्रले दुर्घटनामा परेका मृतक यात्रुका परिवारका सदस्य वा आफन्तजनहरुले थप जानकारी चाहिएमा काठमाडौं विमानस्थल कार्यालयको ०१–४११३१६३ र यती एयरलाइन्सका पेम्बा शेर्पाको ९८०१००७५३१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
काठमाडौंबाट बिहान १०ः३२ बजे पोखराका लागि नेपाली ५३, विदेशी १५ र ४ चालक दलका सदस्यसहित उडेको यती एयरको ल्त्थ् टढज्ञ, ढल्–ब्ल्ऋ विमान १०ः५० दुर्घटना भएको थियो ।
जहाजमा २५ महिला, ३७ पुरुष ३ बालक र ३ शिशु थिए ।
पाँच सदस्यीय जाँच आयोग गठन
सरकारले पोखरामा आइतबार विहान भएको यति एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटनाहरु दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो ।
आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेको सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन् । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।
आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । प्रतिवेदन प्राप्त भएलगत्तै सरकारले सुझाव कार्यान्वयनको व्यवस्था मिलाउने प्रवक्ता पौडेलले बताए । गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो ।
आज सार्वजनिक बिदा
सरकारले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सोमबार(आज) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ, दिवङ्गप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ, निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ, उनले भने, शोकपूर्ण घटनाका सन्दर्भमा सोमबार माघ २ गते शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन
सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान परीक्षण गरे÷नगरेको अनुगमन गर्न नागरिक उड्डयन प्राधिरकणलाई निर्देशन दिएको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
आन्तरिक उडानमा रहेका विमानको प्राविधिक पक्षको परीक्षण अनिवार्य गर्ने व्यवस्थाले हवाई दुर्घटना कम गर्न सघाउ पुग्ने हाम्रो अपेक्षा छ, बैठकका निर्णयबारे जानकारी दिँदै उनले भने, बैठकले घटना प्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
बैठकले दुर्घटनामा परी निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । बैठकले माघ २ गते सोमबार दुर्घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा गर्ने निर्णय गरेको छ ।
घटनाबारेमा जानकारी लिन चाहने परिवार, आफन्त र अन्य सरोकारवालाका लागि सम्पर्क र विश्वसनीय सूचनाको प्रबन्ध गर्न त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
सरकारले पार्थिव शरीर बुझ्न र आ–आफ्नो स्थानमा लैजान चाहनेका लागि सहजीकरण गर्न आवश्यक प्रबन्ध मिलाउने निर्णयसमेत गरेको छ । घटनापछि त्यसबारेमा जानकारी लिने र तत्काल उद्धारका लागि आवश्यक निर्देशन दिइएको उनले बताए । राज्यका सबै निकायलाई परिचालन गर्नेमा प्रधानमन्त्री लाग्नुभएको छ, उनले भने, राज्यका सम्बद्ध निकाय त्यसैअनुसार परिचालित छन् ।
कल सेन्टर स्थापना
आइतबार विहान पोखरामा भएको यती एयरलाइनसको विमान दुर्घटनाका विषयमा जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर सुरु गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका बारेमा जानकारी लिन दुईवटा टेलिफोनमार्फत् कल सेन्टर स्थापना गरिएको बताए ।
उनले भने, विमान दुर्घटनाको बारेमा जानकारी लिन चाहने परिवार, आफन्त र अन्यहरुका लागि सम्पर्क गर्न त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्न कल सेन्टर खोलिएको छ, आवश्यक जानकारी लिन कल सेन्टरमा फोन गर्दा हुन्छ ।
उक्त कल सेन्टरमा यती एअरलाइन्सका तर्फबाट पेम्बा शेर्पा (९८०१००७५३१) तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका तर्फबाट ०१–४११३१६३ नम्बरका फोनहरु राखिएका छन् ।