मलंगवा । सर्लाही प्रहरीले स्रोत नखुलेको साँढे १२ लाख रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ ।
सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।
शुक्रबार दिउँसो गोडैता र मलंगवाबाट १२ लाख ४५ हजार नेपाली रुपैयाँसहित कार चालक र साइकल चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
शुक्रबार दिउँसो बरहथवाबाट भारततर्फ जाँदै गरेको अवस्थामा गोडैता नगरपालिका १२ स्थित लक्ष्मी चोकमा जाँच गर्दा प्रदेश ०१ ०२५ च १७९४ नम्बरको कारबाट १० लाख ४५ हजार बरामद भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
। पक्राउ पर्नेमा कार चालक काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ८ का ३२ वर्षीय प्रल्हाद चापागाईं, सोही ठाउँका २७ वर्षीय सनम बस्नेत, ३६ वर्षीय शिव चापागाईं र ४८ वर्षीय कृष्ण दाहाल छन् ।
त्यसैगरी शुक्रबारै प्रहरीले मलंगवा नगरपालिका २ बाट एक भारतीयलाई २ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ । साइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारत जिल्ला सीतामढी ग्राम पञ्चायत मढिया–३, तिलहंगी बस्ने जयलाल महतोको छोरा १९ वर्षीय राहुल रहेको प्रहरीले जनाएको छ । सुराकीको आधारमा उनको शरीर खानतलासी गर्दा दुई लाख रुपैयाँ फेला परेपछि महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै घटनामा थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् ।