सर्लाही । सर्लाहीको हरिवन नयाँरोड–बरहथवा सडकखण्डमा बिग्रिएर रोकिराखेको उखु बोकेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।
शुक्रबार राति १२ः४५ बजेतिर सो सडक खण्ड अन्तर्गत बागमती नगरपालिका–२, धरहरामा रोकिराखेको ना ५ ख ७५६४ नम्वरको ट्रकमा मोटरसाइकल गएर ठोक्किँदा मोटरसाइकल चालक गोडैता नगरपालिका–४, का ३२ वर्षीय विश्वजित हजराको मृत्यु भएको हो । हजराले चलाएको बागमती प्रदेश ०३–००४ प १५९२ नम्वरको मोटरसाइकल ट्रकमा गएर ठोक्किँदा उनको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
एसपी सुवेदीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । इन्दुशङ्कर चिनी उद्योग हरिवनतर्फ उखु लिएर आउँदै गरेको ट्रकको टायर पम्चर भएपछि रोकेर राखिएको थियो ।
राति बाक्लो हुस्सु लागेका बेला मोटरसाइकल चालकले अगाडिको दृश्य राम्रोसँग देख्न नसक्दा मोटरसाइकल ट्रकमा गएर ठोक्किएको हुनसक्ने आशङ्का गरिएको छ । दुर्घटनामा संलग्न ट्रक प्रहरीको नियन्त्रणमा छ भने चालक फरार भएका छन् ।