लहान । सिरहाको बिष्णुपुर गाउँपालिकाले विपन्न, गरिब, असहायलाई न्यानो वितरण अभियान संचालन गरेको छ । पालिकाका विपन्न, गरिब, असहाय, वृद्धवृद्धालाई कम्बल वितरण गरेर जाडो छल्न सहयोग गरेको हो । गाउँपालिकाले शुक्रबार मात्रै बिष्णुपुर–४ थल्हामा १ सय २६ स्थानीय वृद्धवृद्धा, एकल महिला, दलित र अपङ्गलाई कम्बल वितरण गरेको छ ।
उनीहरुले गाउँपालिका अध्यक्ष सत्य नारायण यादवको कामलाई सराहना गरेका छन् ।
जनता नै आफ्ना लागि सर्वोपरी रहेको भन्दै यस्ता कामहरुलाई आफूले निरन्तरता दिइरहने अध्यक्ष यादवले बताए । उनले कहि कतै पनि हाम्रो पालिकाभरिका जनसमुदायलाइ कठ्याङ्ग्रीएर ज्यान गुमाउन नदिने बताए ।
चिसो अत्यधिक बढे संगै असहायले जाडोकै कारण अनाहकमा ज्यान गुमाउनु परेको अवस्था छ । यस्तो बेला नागरिकलाई राज्यको अभिभावकत्वको खाँचो छ । खासगरी तीन तहको सरकारमा आम जनमानसको सुखदुःखमा स्थानीय सरकारले यसमा शीघ्र अग्रसरता लिनुपर्छ ।
गाउँपालिकाका ५ वटै वडा गरी ७ सय ५० असहायलाई कम्बल वितरण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र महतले बताए ।