जनकपुरधाम । यही माघ ५ गते हुन लागेको सभामुखको निर्वाचनमा नेपाली कांग्रेसले पनि उम्मेदवार उठाउने तयारी थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर कांगे्रसमा सत्ता गठबन्धनबाट मत आउने अनुमान बढेसँगै सभामुखमा उम्मेदवारीको तयारी थालेको हो ।
नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी बाहेक, नेपाल मजदूर किसान पार्टी र जनमोर्चा पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन भने गरेको छैन् । कांग्रेस र एसले प्रचण्डलाई विश्वासको मत दिएपनि नेमकिपा र जनमोर्चाले विपक्षमा मतदान गरेका थिए ।
सभामुखको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलको मत आउने अनुमान कांगे्रसको छ । सभामुखको निर्वाचनमा नेपाली कांग्रेसले विमलेन्द्र निधिलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यसअघि बिहीबार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले सभामुख तथा उपसभामुख चुनावमा संसदमा रहेका अन्य दलहरुको समर्थन लिन छलफल सुरु गर्ने निर्णय गरेको थियो ।
पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकमा सभामुख निर्वाचनका लागि अन्य दलहरुसँग सहकार्य गर्ने निर्णय गरिएको थियो ।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए पछि अहिलेको सत्ता समीकरणमा आशंका उत्पन्न भएको र त्यसलाई नै आफ्नो शक्ति बनाउँदै कांग्रेसले निधिलाई उम्मेदवार बनाउने तयारी गरेको हो ।
‘कांग्रेसले सभामुखमा उम्मेदवारी दिएको खण्डमा पहिलो रोजाइमा विमलेन्द्र निधि हुने निश्चित छ,’ नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘सभामुखमा निधिलाई उठाउन सक्दा अहिलेका सत्ता साझेदार केही दलले उहाँलाई मत दिन सक्छन् भन्ने अनुमान गरिएको छ ।’
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्र र अन्य दलको मत कांग्रेसका सभामुख उम्मेदवारलाई ल्याउन प्रयास गरेका छन् । यसअघि विश्वासको मत माग्न देउवा निवासमा पुगेका प्रचण्डसँग पनि यसबारे छलफल भएको ती नेताले दाबी गरे ।
‘तर, अहिले नै मन्त्रिमण्डल विस्तार तथा सत्ता साझेदार दलका अन्य विषयमा कायम रहेकाले र त्यहाँ खासै खटपट नदेखिएकाले कांग्रेसले सभामुखमा जित निकाल्ने सम्भावना निकै कम छ,’ ती नेताले भने, ‘यही प्रयासले चाहिँ राष्ट्रपति निर्वाचनसम्ममा केही फरक देखिने सम्भावना बढेको छ ।’
सत्ता साझेदार दलमा सभामुख नेकपा एमालेको भागमा परेको छ । अहिलेसम्म नेकपा एमालेबाट सभामुखमा को उम्मेदवार बन्नेछन् भन्ने टुंगो लागिसकेको छैन ।
यसमा सबैभन्दा बलियो दाबी पेश गरेका छन्, पृथ्वीसुब्बा गुरुङले । गुरुङसँगै नेकपा एमालेका अर्का नेता छविलाल विश्वकर्माले पनि सभामुखमा दाबी पेश गरेका छन् ।