जनकपुरधाम । जनकपुरधाममा आगामी माघ १५ गतेदेखि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । हरिज स्पोर्टस जनकपुरधामको आयोजनामा अण्डर–१६ विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
जनकपुरधाममा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले रंगभुमी मैदान बाह्रविघामा विद्यालय स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्थाका सञ्चालक समेत रहेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी हरिशंकर साहले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा संस्थागत र सरकारी विद्यालयको टिम सहभागि हुने छन् । १६ वटा टिमलाई चार समुहमा विभाजन गरी लिग प्रणालीमा प्रतियोगिता हुने छन् ।
सो भन्दा बढी टिमको सहभागिता भए छनौट खेल गरी लिगमा सहभागि गराइने साहले बताए । क्रिकेट बलले हुने खेल २० ओभरको खेलाइने छ । प्रतियोगितामा खेलाडीहरुको प्रोत्साहनको लागि सबै विद्यामा पुरस्कारको व्यवस्था गरिएको छ ।
राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट अवकास प्राप्त नविन सिंहले खेलमा बालबालिकाको रुचि बढाउन प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । खेलले मानसिक रुपमा स्वस्थ बनाउने भएकोले बालबालिकालाई खेलमा अनिवार्य रुपमा सहभागी गराउनुपर्ने उनको जिकिर छ । पुरस्कारको विषयमा तय नभएको र पछि आयोजक टिमले उचित व्यवस्था गर्ने छ । खेलमा सहभागि हुने टिमसँग न्युनतम शुल्क पनि लिइने छन् ।