जनकपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टी(जसपा) नेपालले बुधबार (आज) मुख्यमन्त्रीको दावी पेश गर्ने भएको छ । जसपा संसदीय दलका नेता सरोज कुमार यादवले बुधबार प्रदेश प्रमुह हरिशंकर मिश्रसमक्ष सरकारको दावी पेश गर्ने भएका छन् ।
सत्ता साझेदार दलका नेताहरुसित छलफल गरेर बुधबार मुख्यमन्त्रीमा दावी पेश गर्ने संसदीय दलका नेता यादवले बताए ।
यादव सर्वसम्मत जसपा संसदीय दलको नेता चयन भएपछि सरकार गठन प्रक्रिया अघि बढेको हो । केन्द्रमा सत्ता साझेदार दल रहेका जसपाले मधेश प्रदेश सरकारको मुख्यमन्त्री पाएको छ । आलोपालोमा जसपाले पहिले मुख्यमन्त्री पाएपछि संसदीय दलका नेता यादवले दावी पेश गर्न लागेका हुन् । यादवलाई नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को समर्थन छ ।
प्रदेश प्रमुख मिश्रले दिएको समयसीमा अगावै जसपाले मुख्यमन्त्रीको दाबी पेश गर्न लागेको छ । प्रदेश प्रमुख मिश्रले पुस २८ गते दिउँसो ४ बजेसम्म सरकार गठनको लाग दावी पेश गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुखले गएको पुस २२ गते २ वा सो भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेका थिए ।
मधेश प्रदेशमा जसपा १६ जना सांसदसहित तेस्रो ठूलो दलको हैसियतमा छ । जसपालाई समर्थन दिएको नेकपा एमालेको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र उन्मुक्ति पार्टीका १÷१ जनासहित कुल ६३ जना सांसदको समर्थन रहेको छ । नेपाली कांग्रस, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र एकीकृत समाजवादी पार्टी विपक्षमा रहने भएका छन् । मधेस प्रदेशमा १०७ सांसद रहेका छन् । सत्ता साझेदार दलमध्ये जसपा दलको नेता चयन गर्न पछाडि परेको थियो । प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियमा रहेको नेकपा एमालेले गएको पुस २० गते नै सर्वसम्मत सरोज यादवलाई संसदी दलको नेता चयन गरेको थियो भने जनमत पार्टीले पनि संसदीय दलको नेतामा महेश प्रसाद यादवलाई चयन गरिसकेको छ । सत्ता साझेदारका अर्का दल नेकपा माओवादी भने अभैm संसदीय दलको नेता चयन गर्न सकेको छैन् ।