जनकपुरधाम । बढ्दो चिसो र शितलहरले तराई मधेशको जनजीवन अस्तव्यस्त भएको छ । मंगलबार पनि बिहानैदेखि बाक्लो हुस्सु र शितलहरका कारण दिनभर अत्यधिक चिसो महशुस गरिएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामसहित आठै जिल्लाको जनजीवन अस्तव्यस्त भएको हो । गरिब,विपन्न, बालबालिका, ज्येष्ठ नागरिकलाई जाडो छल्न मुस्किल भएको छ ।
यता, सर्लाहीमा पनि मंगलबार बिहानैदेखि शितलहर चलेर बाक्लो हुस्सु लागेको छ ।
घरबाहिर निस्कनु पर्नेहरु भिज्ने नै गरी बाहिर शितलहर चलिरहेको हो । यस क्षेत्रमा हिजो दिउँसोपख केही घण्टा पारिलो घाम लागेको थियो । तर, मंगलबार भने पुनः बाक्लो हुस्सु लागेर शितलहर चलिरहेको हो । यतिबेला कठ्यांग्रिदो चिसो हुँदा गरिबी गुरुवा परिवारका मानिस निकै प्रभावित भइरहेका छन् ।
चिसोले मजदुर तथा किसान अनि पशुपंक्षी कठ्यांग्रिएरहेका छन् । विगत १ सातादेखि यस क्षेत्रमा निकै कठ्यांग्रिदो चिसो भइरहेको हो । चिसो कम हुनै सकेको छैन् । यहाँका धेरैजसो विद्यालयहरुमा जाडो विदा भइसकेका छन् । विद्यालयहरुको पठनपाठन बन्द गरिएको छ ।
बिहान–बेलुकाको शितलहर र हुस्सुले अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेहरुलाई अप्ठेरो पारिरहेको छ । बाक्लो हुस्सु लागेको बेला यात्रा गर्दा जोखिम हुने भएकाले सावधानी अपनाउन यात्रु तथा सवारी चालकलाई ट्राफिक प्रहरीले सचेत रहन आग्रह गरेको छ ।
त्यस्तै, चिसो बढ्दा स्वास्थ्यमा जटिलता आउने भएकाले ख्याल गर्न चिकित्सकहरुले बारम्बार सुझाव दिइरहेका छन् । केही दिनदेखि चलिरहेको शीतलहरले गर्दा अत्यधिक जाडो बढ्न थालेपछि जनजीवन कष्टकर बनेको छ ।
गत पुस १८ गतेदेखि एक्कासि शीतलहर चल्न थालेपछि जाडो बढन गई बालबालिका, वृद्धवृद्धा असहाय, गरिब विपन्न र श्रमिकलाई जीवनयापन गर्न निकै कठिनाइ भइरहेको छ ।
ज्यालादारी, मजदूरी गर्ने बाहेकका मान्छे जाडोका कारण अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कँदा हाटबजार, सरकारी कार्यालय, यतायात समेतमा चलहपहल कम देखिएको छ ।
अत्यधिक जाडो बढेपछि सर्वसाधारणले ठाउँ–ठाउँमा आगो बालेर जाडो छल्ने गरेका छन् भने जिल्लाको अधिकांश स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिले न्यानो कपडा कम्बल वितरण गर्ने तयारीमा छ ।