जनकपुरधाम । जनकपुरधामको सामुदायिक र संस्थागत विद्यालयहरु माघ २ गतेसम्म विदा गर्ने निर्णय गरेको छ । केही दिन यता चिसो बढ्दै गएपछि जनकपुरधाम उपहानगरपालिकाले आइतबार विदाको दिन बढाएको हो । यसअघि २४ गतेदेखि विद्यालय खोल्न भनेको थियो । तर, जाडो बढ्दै गएपछि नगर भरिका सामुदायिक र संस्थागत विद्यालय आउँदो माघ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । यसअघि पुस २२ गतेसम्म बन्द गरिएको थियो । बढ्दो जाडोका कारण बालबालिकालाई विद्यालय आवतजावतमा समस्या भएको भन्दै संस्थागत विद्यालयहरुको परीक्षा स्थगित गरेर विदा गर्ने निर्णय गरिएको नेपाल प्याब्सन(एन प्याब्सन) धनुषाका अध्यक्ष अवधेश तिवारीले बताए । जाडो बढ्दै गएकोले जनकपुरधाम उपमहानगरपालिकाको निर्णयप्रति समर्थन जनाउँदै विद्यालय बन्द गर्न लागेको अध्यक्ष तिवारीले बताए । जनकपुरधामका संस्थागत विद्यालयहरुमा गत सातादेखि तेश्रो त्रैमासिक परीक्षा संचालन भइरहेको थियो । तर, मौसम प्रतिकूलका कारण परीक्षा स्थगित गरेर जाडो विदा गरिएको सिद्धार्थ शिशु सदनका प्रिन्सिपल राजु यादवले बताए । अर्को हप्तादेखि परीक्षालाई निरन्तरता दिने गरी विद्यालय बन्द गरिएको यादवले बताए । यसअघि जनकपुरधाम उपमहानगरपालिकाले दिएको विदा संस्थागत विद्यालयले बेबास्ता गरेर परीक्षा संचालन गरेको थियो । तर, चौतर्फी दबाबपछि एनप्याब्सन, प्याब्सन, मधेश प्याब्सन मातहत रहेका संस्थागत विद्यालयहरु आउँदो सातासम्मको लागि बन्द गर्न सहमत भएको छ ।