जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी बीच कार्यगत एकता भएको छ ।
दुवै पार्टीले उठाउँदै आएको थरुहट, मधेशका साझा धारणा र मुद्दाहरूलाई संयुक्त रूपमा उठाउने गरी कार्यगत एकता भएको हो ।
आइतबार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
संयुक्त प्रेस विज्ञप्तिमा टीकापुर घटनाको राजबन्दीहरु लगायत रेशम चौधरीको रिहाइको लागि दुवै पक्षले पहल गर्ने, सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ लाई संसद्बाट पारित गराइ प्रभावकारी कार्यान्वयनमा दबाब दिने, थरुहट र मधेस आन्दोलनसम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, विभिन्न आन्दोलनमा सहभागी भएका नागरिक उन्मुक्ति र जनमत पार्टीका आस्थाका बन्दीहरूलाई लगाइएको झुट्टा मुद्दाहरू फिर्ता लिन कानुनी प्रक्रियामार्फत सरकारलाई दबाब दिने उल्लेख छ ।
बदलिँदो राजनीतिक परिवेशलाई दृष्टिगत गरी राष्ट्रिय राजनीतिलाई जनमुखी र परिणाममुखी बनाउन साझा मुद्दा र साझा धारणा भएका दलहरू बीच कार्यगत एकता गर्दै अगाडि बढ्ने अठोट अनुसार हामी वैकल्पिक उदयमान राजनीतिक शक्ति जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका बीचमा आजैका मितिमा सहकार्य गर्ने सहमति भएको छ । हामीले विशेषगरी जनतासँग सरोकार राख्ने मुद्दाहरूमा सरकारलाई दबाब दिन तथा आदिवासी, जनजाति, मधेशी, मुस्लिम, दलित, थारू, ओविसी, अल्पसंख्यक तथा महिलामैत्री राजनीतिक वातावरण तयार गराउन यी दुई पार्टीको बीचमा मोर्चाबन्दी गर्दै अगाडि बढ्न सहमत छौं,’ दुई पार्टीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जनमत पार्टीले २०७९ मंसिर ४ गतेको निर्वाचनबाट संघीय संसद्मा ६ सिट पाएको छ भने नागरिक उन्मुक्ति पार्टीले ४ सिट पाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतलाई तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले मूलधारको राजनीतिमा प्रवेश गराएको थियो । मंसिर ४ गतेको निर्वाचन राउत नेतृत्वको पार्टीका लागि पहिलो निर्वाचन पनि थियो ।
नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशम चौधरी भने टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई यतिबेला डिल्लीबजारस्थित कारागारमा छन् ।