जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) मधेश प्रदेश संसदीय दलको नेता चयनको लागि सोमबार(आज) निर्वाचन हुने भएको छ ।
पार्टी केन्द्रीय सदस्य लालकिशोर साहको संयोजकत्वमा रहेको निर्वाचन समितिलेसंसदीय दलको नेता चयन गर्न आइतबार अपरान्ह निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको हो ।
निर्वाचन कार्यक्रम अनुसार सोमबार बिहान ९ देखि ११ बजेसम्म मनोनयन पत्र दर्ता गराउने समय तोकिएको छ । ११ देखि ११ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । नाम फिर्ता लिने समय चार घण्टा तोकिएको छ । बिहान ११ः३० देखि दिउँसो ३ः३० बजेसम्म नाम फिर्ता लिने समय निर्धारण गरिएको संयोजक साहले जारी गरेको तालिकामा उल्लेख छ ।
३ः३० देखि ४ बजेसम्म दावी विरोधको समय तोकिएको छ भने ४ देखि ४ः३० बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने छ । ५ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सम्पन्न भएपछि मतगणनाको कार्यक्रम निर्धारण गरिएको हो । मधेश प्रदेशमा सात समानुपातिकसहित १६ जना सांसद रहेको छ । संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज कुमार यादव, उपनेता रामअशिष यादव दावी गर्दै आएका छन् । गएको पुस २१ गते बसेको बैठकले संसदीय दलको नेता सम्बन्धि विधान पारित गरिसकेको छ । निर्वाचन कार्यक्रम त्यसको भोलीपल्टै गर्नुपर्ने भएपनि सहमतिको प्रयासमा जसपा संसदीय दलको नेता चयन प्रक्रिया लम्बिएको छ ।