हरिपुर । नेपाली सेनाले सर्लाहीको मुसहर बस्तीमा बढ्दो चिसोलाई मध्यनजर गर्दै तातो चिया र बिस्कुट वितरण गरेको छ ।
सेनाको सर्लाहीस्थित भैरवी दल गण पाँचकुमारी ब्यारेकले हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राह र ईश्वरपुर नगरपालिकास्थित विभिन्न मुसहर बस्तीमा तातो चिया र बिस्कुट वितरण गरेको हो । ती बस्तीमा करिव पच्चीस हजार केजी दाउरा बालेर आगो ताप्ने व्यवस्था समेत मिलाइएको गणले जनाएको छ ।
गणपति अभिषेक कार्कीको निर्देशनमा गणबाट सेनानी उमेश राईको नेतृत्वमा हरिपुर र ईश्वरपुरका मुसहर बस्तीमा पुगेर सेनाको टोलीले चिसो प्रभावितलाई न्यानो पार्ने प्रयास गरेको हो । यो कार्यबाट स्थानीय वासिन्दा तथा बटुवा समेत गरी ४५० जना भन्दा बढी लाभान्वित भएका सेनाको भैरवी दल गण पाँचकुमारी ब्यारेकले जनाएको छ ।
सर्लाहीसहित तराई क्षेत्रमा केही दिनदेखि कठ्याङग्रिदो चिसो हुँदा मुसहर, डोम, चमारजस्ता अतिविपन्न र दलित परिवार प्रभावित बनिरहेका छन् ।