जनकपुरधाम । वैदेशिक रोजगारीमा जानेहरूलाई व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति आइतबार(आज) बाट जनकपुरमै दिने भएको छ । यसअघि जनकपुरबाट श्रम स्वीकृतिको नवीकरण मात्रै हुँदै आएको थियो ।
नागरिकलाई प्रविधिमैत्री सेवा दिने भन्दै वैदेशिक रोजगार विभागले आइतबारदेखि श्रम तथा रोजगार कार्यालय जनकपुर र विराटनगरबाट संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिन थालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
श्रम स्वीकृतिका लागि भौतिक रूपमा उपस्थित हुनुपर्ने विगतको व्यवस्थालाई हटाएर अनलाइन प्रणालीमार्फत सबै किसिमका श्रम स्वीकृति लिन पाउने व्यवस्था गरेपछि सेवामा आएको सुधारकै निरन्तरता स्वरूप जनकपुर र विराटनगरबाट पनि सेवा विस्तार गरेको मन्त्रालयको भनाइ छ ।
‘संस्थागत र व्यक्तिगत श्रम स्वीकृतिका लागि समयमा नै आवेदन नगर्ने, श्रम स्वीकृतिका लागि आवेदन गर्नुअघि नै टिकट खरिद गर्ने कम्प्युटर प्रणालीबाट निर्धारण हुने मिति र समयका आधारमा स्वीकृति प्रदान गर्ने प्रणाली विपरीत अन्तिम समयमा मात्र पेस गर्ने प्रवृत्ति देखिनु प्रणाली सुधारको दृष्टिकोणले उपयुक्त नभएकोले समयमै आवेदन गर्न समेत सरोकारवाला सबैमा अनुरोध गरिन्छ’ मन्त्रालयले भनेको छ ।
श्रम प्रवक्ता डण्डुराज घिमिरेका अनुसार काठमाडौं केन्द्रित सेवालाई विकेन्द्रित गर्दै लैजाने सरकारको नीति अनुसार जनकपुर र विराटनगरबाट श्रम स्वीकृति प्रदान गर्ने सेवा थप गरिएको हो । यसअघि संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लगायत सेवाहरु पोखरा र बुटबलबाट सुरु गरिएको थियो । सुर्खेत र धनगढीबाट भने पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिँदै आएको छ ।
घिमिरेले चार स्थानबाट संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति र दुई स्थानबाट पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान भएको बताए । ‘श्रम स्वीकृतिका लागि भौतिक रुपमा उपस्थित हुनुपर्ने छैन । सवै सेवा अनलाइन प्रणालीमार्फत नै पाउने व्यवस्था गरिएको छ’, उनले भने ।
श्रम मन्त्रालयले समयमा नै श्रम स्वीकृतिको लागि अनलाइन मार्फत् आवेदन दिन आग्रह गरेको छ । ‘संस्थागत र व्यक्तिगत श्रम स्वीकृतिका लागि समयमा नै अनलाइन आवेदन नगर्ने अवस्था छ । श्रम स्वीकृतिका लागि आवेदन गर्नुअघि नै टिकट खरिद गर्ने, कम्प्युटर प्रणालीबाट निर्धारण हुने मिति र समयका आधारमा स्वीकृति प्रदान गर्ने प्रणाली विपरीत अन्तिम समयमा मात्र पेस गर्ने प्रवृत्ति देखिएको छ’, उनले भने,‘यस्तो हुनु भनेको सुधारका दृष्टिकोणले उपयुक्त नभएकोले समयमै आवेदन गर्न मन्त्रालयको आग्रह छ ।’