सर्लाही । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका ६ कामदस्थित मुसहर बस्तीका बालबालिकालाई ज्याकेट वितरण गरिएको छ ।
गृहमन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाबाट प्राप्त १५० थान ज्याकेट कामदस्थित मुसहर बस्तीमा लगेर बाँडिएको हो । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, वडाध्यक्ष रामस्वरुप राउतलगायत भएर बालबालिकालाई ज्याके वितरण गरेका हुन् ।
मन्त्रालयबाट प्राप्त न्याना कपडा तथा जुत्ता यसरी विभिन्न बस्ती र विद्यालयमा पुगेर वितरण गर्ने क्रम जारी छ । सर्लाहीमा केहीदिनदेखि बढ्दो चिसोले सबैभन्दा धेरै मुसहर समुदाय प्रभावित छन् । सर्लाहीमा चिसो प्रभावित व्यक्ति तथा परिवारलाई न्यानो कपडा, कम्बल आदि के कति राहत उपलब्ध गराउन सकिन्छ भनी विवरण लिइने भएको छ ।
यसअघि गएको मंगलबार जिल्ला प्रशासन कार्यालय मलंगवामा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा बसेको विपद्को क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिसहितको बैठकले सबै संघसंस्थाहरुले जिल्ला प्रशासन कार्यालयमा विवरण उपलब्ध गराउने र स्थानीय तहसँग समन्वय गरी वितरण गर्ने निर्णय गरेको हो । शितलहरबाट प्रभावित हुन सक्ने क्षेत्र, गाउँ, टोल, परिवारहरुको पहिचान गरी राहत तथा उद्धारको प्रवन्धसहित दाउरा, न्यानो कपडा, कम्बलको व्यवस्थापनमा लाग्ने, चिसोबाट जोगिने उपायबारे सचेतनामूलक कार्यक्रम संचालन गर्ने निर्णय पनि भएको छ ।