हरिवन । उच्च अदालत जनकपुरले सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ मा पुनः मतगणना गर्न आदेश दिएको छ । बैशाख ३० मा वडा नं. ७ मा चुनाव सम्पन्न भएको थियो । वडाध्यक्षमा पराजित उम्मेदवारले दिएको रिटमा सुनुवाई गर्दै उच्च अदालत जनकपुरले वडाध्यक्षमा यसअघिको मतगणनालाई रद्द गरी पुनः मतगणनाको आदेश दिएको हो ।
उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीका अनुसार न्यायाधिशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त ईजलासले उक्त वडाको अध्यक्षका लागि पुनः मतगणनाका लागि शुक्रबार आदेश दिएको हो । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय हरिवनले गरेको गणना अनुसार हरिवन–७ को वडाध्यक्षमा नेकपा एमालेका निरध्वज कार्की निर्वाचित भई कार्यरत छन् ।
निर्वाचन अधिकृतको कार्यालयको गणना अनुसार कार्की ३७९ मत सहित विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टिकाजंग थापा (अशोक)ले ३७८ मत पाएका छन् । कांग्रेसका थापाले तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको माग सहित रिट दायर गरेका थिए । तर अदालतले अन्तरिम आदेश जारी नगरी शुक्रबार पुनः मतगणनाको आदेश दिएको छ । रजिष्ट्रार अधिकारीले अब मतपत्र अदालतमै झिकाएर पुनः गणना गरिने बताए ।
यसअघि २०७८ असोज १२ मा पनि स्थानीय तहको निर्वाचन भएको चार वर्ष पछि महोत्तरीको एक वडामा पुनः मतगणनाको आदेश भएको थियो । उच्च अदालत जनकपुरले महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर १० मा पुनःमतगणना गर्न आदेश दिएको हो ।
तत्कालीन न्यायाधीशहरु हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको इजलासले फेरी मतगणनाको आदेश दिएको थियो । आदेश अनुसार ७ कात्तिकमा मतगणना गरिएको थियो ।
दोहो¥याएर मतगणना गरी पाउँ भन्दै वडा अध्यक्षका उम्मेदवार रमेश रायले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले २१ असार २०७५ मा फेरी मतगणना गर्ने आदेश दिएको थियो । निर्वाचित भएका अरुणकुमार चौधरीले आदेश विरुद्ध सर्वाेच्च अदालतमा निवेदन दिएका थिए ।
सर्वाेच्चले ६ चैत २०७७ मा उच्च अदालतको आदेश सदर गरेको थियो । २०७४ असोज २ मा भएको स्थानीय तहको निर्वाचनमा समान मत आएको भन्दै गोलाप्रथाबाट अरुण कुमार चौधरी वडाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको थियो ।