जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको संसदीय दलको नेता चयन लम्बिदै गएको छ ।
जसपाले मधेश प्रदेशमा संसदीय दलको नेता चयन गर्नको लागि केन्द्रीय सदस्य लालकिशोर साहको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । निर्वाचन समितिले संसदीय दलको नेता चयन प्रक्रिया बिहीबारदेखि अगाडि बढाएको हो । बिहीबार बसेको नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको बैठकले संसदीय दल सम्बन्धी विधान पारित गरेर शुक्रबार नेता गर्ने गरी बैठक शुक्रबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको थियो । बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक केहि ढिलो गरी शुरु भएपनि शुक्रबार साँझ सम्म छलफल भएको छ ।
बैठकमा सहभागी एक जना प्रदेशसभा सदस्यका अनुसार संसदीय दलको नेता भोली(शनिबार) निर्वाचन प्रक्रियाबाट हुने सम्भावना बढी छ । अहिलेसम्म बैठकमा सहमतिको लागि छलफल भइरहेको छ, तीन सांसदले भने–तर सहमति जुट्ने सम्भावना न्युन छ । मधेश प्रदेशमा संसदीय दलको नेतामा वर्तमान मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज कुमार यादव, दलका उपनेता रामअशिष यादवले दावी गर्दै आएका छन् । मधेश प्रदेशमा जसपाको १६ जना सांसद छ । संघीय सरकारमा माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेकोले मधेश प्रदेशमा जसपाले मुख्यमन्त्रीमा दावी गरेको छ । मुख्यमन्त्रीमा दावी गरेसँगै जसपामा आकांक्षी बढेको छ ।
गत साता राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव आपैm जनकपुर आएर संसदीय दलको नेता चयन गर्न खोजेका थिए । तर, सर्वसम्मत हुने सम्भावना नदेखेपछि यादवले केन्द्रीय सदस्य साहको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरेर फर्केका थिए ।
निर्वाचन समिति गठन गरेको एक साता बढी भएपनि संसदीय दलको नेता चयन गर्ने प्रक्रिया पुस २१ गते बिहीबारदेखि थालेको छ । पार्टीको राजनीतिक समितिको बैठकले गर्दा संसदीय दलको नेता चयन प्रक्रिया लम्बिएको हो । शुक्रबार संसदीय दलको नेता चयन हुने बताएपनि जसपाले शनिबार मात्रै नेता चयन गर्ने भएको छ ।