जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पुस २५ गते सोमबार संसदीय दलको नेता चयन गर्ने भएको छ । मधेस प्रदेश संसदीय दलको नेता चयनका लागि शुक्रबार बोलाएको बैठकले संसदीय दलको विधान संशोधनसहित पारित गरेको छ ।
शुक्रबार जनकपुरधाममा बसेको बैठकबाट संसदीय दलको विधान संशोधनसहित पारित गर्दै केन्द्रीय कार्यसमितिमा अनुमोदनको लागि पठाउने निर्णय गरिएको नवनिर्वाचित प्रदेशसभा सदस्य रानी कुमारी तिवारीले बताइन् । आइतबारसम्म माननीयज्यूहरुले आ आप्mनो प्रस्ताव दर्ता गराएपछि केन्द्रमा पठाइने छ । केन्द्रले विधान संशोधन प्रस्ताव अनुमोदन गरेपछि प्रदेशमा संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्ने छ ।
प्रदेशमा संसदीय दलको नेता चयन सर्वसम्मतले चयन गर्न केन्द्रको निर्देशन छ, प्रदेशसभा सदस्य तिवारीले भनिन्–सोमबार वा मंगलबारसम्म प्रदेशमा संसदीय दलको नेता सर्वसम्मतले चयन हुन्छ । सर्वसम्मत चयन गर्ने सहमति नभए निर्वाचन प्रक्रियामा जाने छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते भित्र सरकार गठनको लागि दलहरुलाई दावी पेश गर्न आह्वान गरेको छ । मधेश प्रदेशमा लोसपाले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा रहेकोले सरकारमा जाने सम्भावना कमै छ । सरकारमा सहभागी हुने सम्भावना कम हुँदा लोसपाले संसदीय दलको नेता चयनमा पनि तदारुकता देखाएको छैन् । प्रदेशका प्रमुख दलहरुले संसदीय दलको नेता चयन गरिसकेपनि लोसपा भने शुक्रबार संसदीय दलको विधान संशोधन प्रस्ताव पारित गरेर बैठक सम्पन्न गरेको छ । ९ जना सांसद रहेको लोसपाको शुक्रबारको बैठकमा आठ जना मात्र उपस्थिति थिए । पर्साबाट दोश्रो पटक निर्वाचित रमेश पटेल घरायसी कार्यले गर्दा शुक्रबारको बैठकमा उपस्थित हुन नसकेको सांसद तिवारीले बताइन् । लोसपाले प्रत्यक्षतर्पm जितेको ७ मध्ये ६ जना प्रदेशसभा सदस्यमा दोहोरिएका छन् । सिरहाबाट रामबाबु यादव पहिलो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् भने समानुपातिकतर्पm निर्वाचित दुवै जना महिला पहिलोपटक प्रदेशसभामा प्रवेश गरेकी छन् । लोसपा मधेश प्रदेशका अध्यक्ष जीतेन्द्र सोनलको अध्यक्षतामा बसेको बैठकले आगामी बैठकबाट संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको थियो । यद्यपी अर्को बैठकको तिथि भने तोकिएको छैन् ।