राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँ पक्राउ परेका छन् । सरकारी लिखतसम्बन्धी कसुर र किर्ते नागरिकता बनाएको आरोपमा उनी पक्राउ परेका हुन् ।
मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट तथा भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता अपचलन गरेको आरोपमा उनीमाथि मुद्दा चलिरहेको थियो ।
मुद्दा विचाराधिन रहेकै अवस्थामा उनी दोस्रोपटक गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी निर्बाधरुपमा चुनाव प्रचारप्रसारमा सहभागी भएका थिए । प्रहरीकै उपस्थितिमा मियाँले निर्वाचित भएको प्रमाणपत्र लिँएर दोस्रो कार्यकाल सुरु गरेका थिए ।
डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ मा आर्थिक वर्ष ०७४÷७५ देखि ०७७÷७८ सम्म ७८ जनाको नाममा किर्ते कागजात पेस गरी सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको आरोपमा वडाध्यक्ष रहमानसहित २१ जनामाथि मुद्दा चलिरहेको छ । यो प्रकरणमा एक करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता रकम हिनामिना भएको जनाइएको छ । उक्त घटनामा वडाध्यक्ष रहमानसहित २१ जनालाई प्रतिवादी बनाएर २०७७ असोज २२ गते मुद्दा दर्ता भएको थियो ।
सोही मुद्दामा तत्कालीन समयमै पक्राउ गरिएका तत्कालीन वडासचिव विनोदकुमार ठाकुर अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा छन् ।
बिहीबार पक्राउ गरिएका वडाध्यक्ष रहमानलाई अदालत पेस गरिएको र शुक्रबारदेखि थुनछेक बहस हुने जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले जनाएको छ ।