जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालले शुक्रबार (आज) संसदीय दलको नेता चयन गर्ने भएको छ । संसदीय दलको नेताको लागि केन्द्रीय सदस्य लालकिशोर साहको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । भोली(शुक्रबार) बिहानदेखि संसदीय दलको नेता चयन गर्ने प्रक्रिया शुरु गर्ने जसपा मधेश प्रदेशका प्रमुख सचिव समेत रहेका निर्वाचन समिति सदस्य दिनेश प्रसाद यादवले बताए । यादवका अनुसार सर्वसम्मतमा संसदीय दलको नेता चयनको प्रयास गरिने छ । माननीयज्यूहरुमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया शुरु गरेर शुक्रबार साँझ सम्म नेताको चयन गरिने यादवले बताए । संसदीय दलको नेता चयनमा सर्वसम्मत हुन्छ, उनले भने–हाम्रो विश्वास छ । सर्वसम्मतले दलको नेता चयन हुन्छ । यसअघि प्रतिनितिसभामा पनि निर्वाचन प्रक्रिया बाट संसदीय दलको नेता चयन गर्ने भनिएपनि सर्वसम्मतले पार्टी महासचिव रामसहाय यादवलाई दलको नेता चयन गरेको थियो । मधेश प्रदेशको संसदीय दलको बिहीबार बसेको बैठकले प्रदेशको विधान पारित गरेको छ ।
प्रदेश सभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभा सदस्यहरूको उपस्थितिमा विधान पारित गरिएको नेता यादवले बताए ।
पार्टीको केन्द्रीय समितिले मधेश प्रदेशको संसदीय दलको नेता छान्नका लागि पार्टीले साहको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिले प्रदेशसभाका सदस्यहरूसँग छलफल तथा परामर्श गरिरहेको छ ।
मधेश प्रदेशमा जसपाको प्रत्यक्षतर्पm ९ र समानुपातिकको सात गरी १६ जना प्रदेशसभा सदस्य रहेका छन् । १६ जनामा ९ जना लगातार दोश्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्पm निर्वाचित मनिष सुमन २०७९ मा भने समानुपातिकबाट प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । मुख्यमन्त्री राउत, निवर्तमान सभामुख यादव, उपनेता रामअशिष यादव, सिंहासन सा कलवार, बच्चालाल अहिर, फुलबाबु, सर्लाहीका संजय यादव, महोत्तरीबाट सरोज सिंह कुशवाहा लगातार दोश्रो पटक चुनाव जितेर प्रदेशसभामा आएका छन् ।
संसदीय दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोजकुमार यादव र दलका उपनेता राम अशिष यादवको नाम चर्चामा छ ।