जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादवलाई चयन गरेको छ ।
नेकपा एमाले मधेश प्रदेशका नवनिर्वाचित सांसदहरुको मंगलबार अबेरसम्म बसेको बैठकले यादवलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । महोत्तरी निर्वाचन क्षेत्र नं. १(क)बाट निर्वाचित प्रदेशसभा सदस्य यादवलाई सर्वसम्मतले दलको नेतामा चयन गरिएको हो । एमाले संसदीय दलको उपनेतामा दिपेन्द्र ठाकुर चयन भएका छन् । धनुषा–३(ख) बाट निर्वाचित ठाकुरले दलको नेतामा दावी गरेपनि उपनेता चयन भएका हुन् ।
मंगलबार साझ जनकपुरमा नेकपा एमालेका ज्येष्ठ प्रदेश सांसद पल्टी देवीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले यादवलाई दलको नेतामा सर्वसम्मतले चयन गरेको हो ।
नेकपा एमालेको मधेश प्रदेशमा सबै भन्दा बढी २३ जना प्रदेशसभा सदस्य रहेको छ । यादव नेकपा एमालेको केन्द्रिय सदस्य र महोतरी जिल्ला इन्चार्जसमेत हुन् ।
आकांक्षीहरु बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको थियो । प्रदेश कमिटीले यादवको नाम चयन गरेको छ ।
दलको नेताका लागि एमाले केन्द्रीय सदस्य समेत रहेका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, दिपेन्द्र ठाकुर लगायतले दावी गरेका थिए । नेकपा एमाले मधेश प्रदेश इन्चार्ज समेत रहेका केन्द्रीय सचिव रघुवीर महासेठको उपस्थितिमा दलको नेता सर्वसम्मतले चयन गरिएको हो । प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको नेकपा एमालेको संसदीय दलको नेता चयन चासो विषय बनेको थियो । कयौ जना नेता दावेदार हुँदा दलको नेता पेचिलो बन्दै गएको थियो । यसअघि जनमत पार्टीले मधेश प्रदेशमा सर्वसम्मतले महेश प्रसाद यादवलाई संसदीय दलको नेता चयन गरेको थियो । जनमतमा पनि आकांक्षी बढी भएपनि पार्टी अध्यक्ष डा. सीके राउतले सर्वसम्मत रुपले महेश प्रसाद यादवलाई संसदीय दलको नेता चयन गरेको थियो । एमाले र जनमत मधेश प्रदेशमा सरकारमा जाने पक्का छ । संसदीय दलको नेताको नेतृत्वमै सरकारमा जाने सम्भावना रहेकाले आकांक्षी बढी देखिएको थियो । सरकारमा सहभागी हुने प्रदेशको तेश्रो ठूलो दल जनता समाजवादी पार्टी(जसपा) ले अभैm दलको नेता चयन गर्न सकेको छैन् । दलको नेता चयन गर्नको लागि जसपाले केन्द्रीय सदस्य लालकिशोर साहको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरिसकेको छ ।