हरिवन । ब्याजदर घटाइदिन माग गर्दै सर्लाहीको हरिवनका उद्योगी, व्यापारीले सोमबार बैंकहरुमा ज्ञापन पत्र बुझाएका छन् ।
पछिल्लो समय अस्वभाविक रुपमा निरन्तर ब्याजदर वृद्धि गर्दा आफूहरु मारमा परेको भन्दै हरिवनका व्यापारीले हरिवन बजारमा रहेका कृषि विकास, नेपाल बैंक, सानिमा, एनआईसी एशियासहित एक दर्जन बढी बैंकमा पुगेर त्यहाँका शाखा प्रवन्धकहरुलाई ज्ञापन पत्र बुझाएका हुन् । उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठको नेतृत्वमा व्यापारीहरु ज्ञापन पत्र बुझाउन प्रत्येक बैंकमा पुगेका थिए ।
कोरोना संक्रमणपछि व्यापार व्यवसाय गरेर पालिन नै धउधउ परिरहेका बेला बैंकहरुले ब्याजदर निरन्तर बढाउँदा साँवा, ब्याज तिन नसक्ने अवस्था आएको व्यापारीहरुको गुनासो छ । कोरोना संक्रमणपछि अझै पनि व्यापार तंग्रन नसकेको व्यापारीहरु गुनासो गर्छन् ।
बैंकको ब्याजदर वृद्धिको विरोधमा केही दिनअघि लालबन्दीका उद्योगी, व्यापारीले लालबन्दी र नवलपुर बजारमा विरोध र्याली नै निकालेका थिए ।