काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दै छ ।
प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।
उनले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गरेका छन् । प्रधानमन्त्री दाहालले पुस ११ गते शपथ लिएका थिए । विश्वासको मत पाएपछि मात्र उनले मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएका छन् ।
प्रधानमन्त्रीमा माओवादी अध्यक्ष दाहाललाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसँगै तीनजना स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।
एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदका साथै स्वतन्त्र निर्वाचित तीन गरी दाहाललाई १ सय ६९ सांसदले समर्थन गर्दै राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएका थिए ।