जनकपुरधाम । नेपाली जनशक्ति तयार नभएपछि जयनगर–कुर्थासम्म रेल संचालनका लागि भारतीय रेल्वे कम्पनी कोंकणको म्याद ३० दिन थप गरिएको छ । नेपाल रेलवे कम्पनीले २०७८ पुसमा एक वर्षका लागि भन्दै कोंकणसँग प्राविधिक कर्मचारी उपलब्ध गराउन सम्झौता गरेको थियो । सम्झौता अनुसार २६ जना प्राविधिक कर्मचारी ल्याएर जनकपुर–जयनगरमा रेल सञ्चालन गरिएको हो ।
तर एक वर्ष पूरा हुँदा पनि नेपाली जनशक्ति तयार नभएपछि भारतीय कम्पनीका कर्मचारीलाई नै निरन्तरता दिनुपरेको छ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार नेपाली जनशक्ति तयार गर्नका लागि चार वटा पदका लागि १० जना कर्मचारी माग गर्दै विज्ञापन गरिएपनि पदपूर्ति हुन सकेन् ।
महाप्रबन्धक झाका अनुसार ४ लोको पाइलट, ४ स्टेसन मास्टर, १ ट्रयाक इन्जिनियर र १ इयर कन्डिसनरका लागि विज्ञापन खुलाइएकोमा इयर कन्डिसनरका लागि ३ जना र लोको पाइलटमा १ जनाको मात्रै आवेदन परेको छ ।’
कर्मचारी भर्ना प्रक्रिया नटुंगिएकाले तत्काललाई कोंकणकै प्राविधिक टिमबाट रेल चलाइने उनले बताए ।