काठमाण्डौ । स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । काठमाडौँमा बिहीबार सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेको हो ।
भेलाले ५१ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पार्टीको प्रदेश अध्यक्ष, सचिव र इञ्चार्जको जिम्मेवारीसमेत तोकिएको छ । नेकपा (एमाले) परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका साह गत मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र ३ बाट निर्वाचित भएका थिए ।
आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसात गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन नयाँ पार्टी गठन गरिएको अध्यक्ष साहले बताए । पार्टीलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न आमजनता पार्टीको अन्तरिम विधान २०७९ लाई पारित गरेको छ ।
प्रदेश १ को इन्चार्जमा रामप्रित राम, अध्यक्षमा हरिप्रसाद पोखरेल, मधेस प्रदेशमा इन्चार्ज उपेन्द्र साह र अध्यक्षमा श्रीचन मुखिया, वाग्मती प्रदेशमा इन्चार्ज बद्रीप्रसाद न्यौपाने र अध्यक्षमा नाम्गेल मोक्तान, गण्डकी प्रदेश इन्चार्ज बद्रीप्रसाद न्यौपाने र अध्यक्षमा राजन यादवलाई जिम्मेवारी दिइएको छ । यस्तै लुम्बिनी प्रदेश इन्चार्जमा रितादेवी यादव, अध्यक्षमा परमानन्द बर्मा, कर्णाली प्रदेश इन्चार्ज उपेन्द्र साह र अध्यक्षमा सियाराम कुश्वाहा र सुदूरपश्चिम इन्चार्ज कुन्द्र कुश्वाहा र अध्यक्षको जिम्मेवारी केशव राय चौधरीलाई दिइएको छ ।