काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी नहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा नजाने सचिवालय बैठकले निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
आइतबार नै दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा एमालेसहितका दलहरुले सहमति भएको हो । दाहालको नेतृत्वमा सरकार बनाउने निर्णय भएपछि नेकपा एसको सचिवालय बैठक बसेको थियो ।
पछिल्लो विकासित घटनाक्रमलाई लिएर गम्भीरतापूर्वक लिने र उपयुक्त समयमा उपयुक्त धारणा बनाउने प्रवक्ता खतिवडाले बताए । उनले अहिले पार्टीले ’पर्ख र हेर’को नीति लिने बताए ।
’हाम्रो मोटिभ चाहिँ अहिले यो सरकारमा सहभागी नहुने हो, यो सरकारमा बसेर काम हुँदैन,’ उनले भने ।
नेकपा (एकीकृत समाजवादी)ले एक्कासि विकसित मुलुकको राजनीतिक परिस्थितिको अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको छ ।
एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक छलफल गरी उक्त निर्णय गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए । बैठक पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको हो ।