मलंगवा । हुलाकी सडक अन्तर्गत सर्लाहीको पर्सा गाउँपालिकामा बल प्रयोग गरेर सडक पेट्टी खाली गराएको छ ।
सडकको मापदण्डभित्र पर्ने घर तथा अन्य संरचना भत्काउन स्थानीयलाई पटक–पटक सूचना गर्दा पनि बेवास्ता गरेपछि जिल्लामा भएको सर्वपक्षिय बैठकको निर्णयानुसार बल प्रयोग गरेरै सडक खाली गराइएको हो । पुस १ गते सदरमुकाम मलंगवामा बसेको सर्वपक्षिय बैठकले हुलाकी सडकमा अतिक्रमण खाली गर्ने जिम्मेवारी पालिकालाई दिएको थियो ।
सो निर्णय अनुसार पर्सा गाउँपालिकाका अध्यक्ष धीरेन्द्र राय यादवको नेतृत्वमा सडकको मापदण्डभित्र पर्ने घर भत्काउने र सीमांकन गर्ने काम गरिएको हो । पर्सा गाउँपालिका–६ का वडाध्यक्ष गणेश साहले शनिबार र आइतबार दुई दिनमा सडकको ‘साइड क्लियर’ गरिएको बताए ।
वडाध्यक्ष साहले वडाले कयौँ पटक सूचना निकालेर सडक खाली गराइदिन आग्रह गरेपनि अटेर गरिएपछि बल प्रयोग गर्नुपरेको बताए । वडाले धेरै पटक सूचना निकालेर आग्रह ग¥र्यो तर कसैले टेरेनन्, जिल्लाबाटै निर्णय भएपछि हामीलाई जसरी पनि ‘साइड क्लियर’ गराउन दबाब प¥र्यो, वडाध्यक्ष साहले भने, डोजर प्रयोग गरेर दुई दिनमा सडक निकालेरै छाड्यौँ ।
सडकको ‘साइड क्लियर’ गराउन सदरमुकाम मलंगवाबाट समेत थप मद्धतमा प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले हुलाकी सडकको ‘साइड क्लियर’ गर्न आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको बताए ।
करिव ४१ किलोमिटर लामो सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडक वर्षौदेखि जिर्ण अवस्थामा छ । सडक कालोपत्रे नहुँदा स्थानीय वासिन्दा र यात्रुले अहिले धुलोको मार खेपिरहेका छन् ।
हुलाकी सडक निर्देशनालय योजना कार्यालय जनकपुरले ‘साइड क्लियर’ भएपश्चात सडक कालोपत्रेको काम अघि बढाइने जनाएको छ । हुलाकी सडक निर्माण गर्न माग गर्दै केही दिनअघि जिल्लाको ब्रह्मपुरी, मलंगवा, मुसैली, कौडेनालगायत स्थानका वासिन्दाले चक्काजाम गरेका थिए ।
चारैतिर सडक अवरुद्ध हुन थालेपछि सडक निर्माण गर्न दबाब बढेको हो । पर्सा गाउँपालिकाबाहेक हुलाकी सडकमा पर्ने अन्य पालिकामा पनि यसैगरी बल प्रयोग गरेरै ‘साइड क्लियर’ गर्ने तयारी भइरहेको छ ।