काठमाण्डौ । प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।
यससँगै तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए ।
दाहाल यसअघि २०६५ र २०७३ मा ९÷९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए ।
यसअघि आइतबार नै प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदसहित नेकपा (माओवादी) केन्द्र)का अध्यक्ष प्रचण्डले नयाँ प्रधानमन्त्रीका लागि आफ्नो दाबी पेश गरेका थिए ।
नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष दाहाललाई प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए ।
प्रचण्डलाई नेकपा (एमाले)को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ ।
राष्ट्रपति भण्डारीलाई पेश गरिएको समर्थनपत्रमा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका दल नेता दाहाल, स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेका छन् ।
यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकान्त राउत, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रञ्जिता श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । यसैगरी स्वतन्त्र सांसद प्रभु साह, किरण साह र डा अमरेशकुमार सिंहले पनि समर्थन गरेका छन् ।
राष्ट्रपति भण्डारीले नयाँ प्रधानमन्त्रीका लागि नेपालको संविधानअनुसार आइतबार साँझसम्मको समयसीमा तोकी दाबी पेश गर्न राजनीतिक दलहरूलाई आह्वान गरेबमोजिम उनीहरू दाबी पेश गर्न पुगेका थिए । उनका अनुसार राष्ट्रपति भवनमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक जनमुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतका नेता थिए ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको राजनीतिक दलहरूको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहित विभिन्न सात दलका नेताको बैठकले सरकार गठन गर्नेबारे सहमति गरेको हो । बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै एमालेका महासचिव शङ्कर पोखरेलले बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको जानकारी दिए ।
उनले भने, अहिले बैठक सम्पन्न भएको छ, प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । कूल सङ्ख्या एक सय ६६ मतको समर्थनमा सरकारका गठनका लागि राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्न केपी ओली, प्रचण्डलगायतका हामी शीतल निवास जाँदैछौँ । प्रधानमन्त्रीका लागि आजै दाबी पेश गर्ने जानकारी राष्ट्रपति कार्यालयमा दिएर नेताहरू शीतल निवास गएको बताइएका छन् ।
महासचिव पोखरेलले भने, “राष्ट्रपतिले दिएको समयमा सरकार गठन नहुँदा जनादेशभन्दा विपरीत हुने ठहर हो । त्यसैअनुरुप देशको पहिलो दल कांग्रेसले सरकार बनाउन नसक्ने भएपछि दोस्रो ठूलो दलको रुपमा एमालेले सरकार गठन गराउनुपर्ने बाध्यता आइपरेको छ, त्यसका लागि दलहरूबीच छलफल गरेर सहमति बनाएका छौँ ।
उनले कुन दलले के लिने भनेर ‘पावर शेयरिङ’को बारेमा भने सरकार गठनपछि छलफल बताए । दाहाललाई एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, जनमतको छ र नागरिक उन्मुक्तिको चार गरेर एक सय ६६ सांसदको समर्थन रहनेसमेत उनको भनाइ छ ।
दलहरूबीचको सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सहमतिअनुसार सरकारको नेतृत्व माओवादी अध्यक्ष दाहालले गर्ने र राष्ट्रपति एमालेले लिने भएको छ । सहमतिको पहिलो चरणमा दाहालले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि बाँकी समय एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
बैठकमा सरकारको नेतृत्व दाहालले गरेसँगै राष्ट्रपति र सभामुख एमालेले पाउने गरी सहमति जुटेको ओलीको सचिवालयले जानकारी दिएको छ । सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी सहभागी हुने गरी छलफल भएको थियो ।
बालकोटमा माओवादी केन्द्रका अध्यक्ष दाहाल पुग्नु अगावै एमालेका अध्यक्ष ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईबीच छलफल भएको थियो । त्यसपछि बालकोट पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल र एमाले अध्यक्ष ओलीबीच भेटघाट गरी सरकार गठनबारे छलफल भएको थियो ।
बैठकमा अध्यक्ष ओली र महासचिव शङ्कर पोखरेलसहितका नेता, माओवादी केन्द्रका अध्यक्ष दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायतका नेताहरू सहभागी थिए ।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बिहानदेखिको सत्तागठबन्धन दलका शीर्ष नेताहरुको बैठक निष्कर्ष विहीन सकिएको थियो ।
निर्धारित समयभित्र नयाँ सरकारको दाबी गर्न दलहरुको प्रयास थियो । कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायत गठबन्धन दलले आगामी सरकार गठनका लागि विभिन्न चरणमा छलफल गरी सहमतिको प्रयास गरेका थिए । तर, नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री छाड्न तयार नभएपछि नेकपा माओवादी अध्यक्ष प्रचण्ड बालकोटतिर लागेका थिए ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गरेका थिए ।