जनकपुरधाम । केही दिन यता बढेको चिसोका कारण मधेश प्रदेशको जनजीवन कष्टकर बन्दै गएको छ ।
धनुषासहित प्रदेशका आठै जिल्लाको जनजीवन कष्टकर बन्दै गएको हो । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् ।
मङ्सिर अन्तिम सातादेखि मधेश क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो । एक साता अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न थालेको थियो तर, बिहीबारदेखि बाक्लो हुस्सु लाग्न थालेको छ ।
कठ्याङ्ग्रिदो चिसोले पराल ओछ्याएर सुत्न बाध्य मुसहर, चमार, डोम, हलखोर, पासमानलगायत दलित तथा अतिविपन्न परिवार चिसोबाट बढी प्रभावित भएका छन् । विपन्न परिवार अहिले परालको भरमा रात बिताउन थालेका छन् । परालको आगो ताप्ने र परालकै ओछ्यान बनाएर रात बित्ने गरेको बह्मपुरी गाउँपालिका–३ भेल्हीका उपेन्द्र रामले बताए ।
ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीकी तेतरी सदा मुसहरले जाडोका कारण दैनिकी कष्टकर बनेको बताए । बिहानैदेखि घर बाहिर निस्कन मुश्किल भएको छ, दैनिक गरिने कामकाजमा बाधा पुगेको छ, उनले भने ।
चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा हालसम्म तीन जनाको ज्यान गइसकेको छ । हरिपुर नगरपालिका–६ लक्ष्मीपुर र वडा नम्बर ९ पिडारीमा उनीहरुले ज्यान गुमाएका हुन् । प्रभावितलाई चिसोबाट जोगाउन पालिका र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको सर्वसाधारणको गुनासो छ । अत्यधिक चिसो तथा शीतलहरका कारण स्वासप्रश्वास, रुघाखोकी, निमोनियाजस्ता समस्या देखिएको प्रादेशिक अस्पताल मलङ्गवाका प्रमुख डा नवलकिशोर झाले बताए । यता, चिसो प्रभावितलाई न्यानो वितरण गर्ने प्रदेश सरकारको कम्बल खरिद प्रक्रिया अभैm शुरु भएको छैन् । पुसको पहिलो साता बितिसक्दा पनि खरिद प्रक्रिया शुरु हुन नसकेको कारण मन्त्रालयमा कर्मचारीको अभाव रहेको गृह तथा संचार मन्त्री भरत प्रसाद साहले बताए ।
साहका अनुसार कम्बल खरिद टेण्डर प्रक्रियाबाट नगरेर कोटेशनमार्पmत गरिने भएको छ । कोटेशनमा खरिद गर्दा बढी समय नलाग्ने उनले बताए । कम्बल खरिद भएपछि वितरण गरिने उनले बताए । जाडोले जनजीवन कष्टकर बनेपनि सरकारले कम्बल खरिद गर्न नसक्दा गरिब, विपन्न परिवारलाई समस्या भएको छ । जाडो गइसकेपछि कम्बल वितरण गर्दा त्यसको सदुपयोग नहुने भएको छ ।