जनकपुरधाम । बिहीबार बिहानदेखि धनुषासहित मधेशका विभिन्न जिल्लामा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । हुस्सु र कुहिरोका कारण तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार पश्चिम तराईका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा तथा पूर्व तराईका जिल्ला सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापामा बिहानैदेखिको हुस्सुका कारण हिँडडुल गर्न नै समस्या भएको छ ।
धेरै स्थानमा लागेको कुहिरो तथा हुस्सु मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचर विमानस्थलले जनाएको छ ।
अहिले नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बदली भएको छ ।
आउँदो २४ घण्टामा तराईका केही भू–भागमा बिहानीपख हुस्सु, कुहिरो लाग्ने र देशका प्रायजसो भू–भागमा तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको विभागले जनाएको छ ।
बिहान ७ बजे सर्लाहीको न्यूनतम तापक्रम १२ डिग्री सेल्मीयस मापन गरिएको छ ।
कठ्यांग्रिदो चिसोले पराल ओछयाएर सुत्न बाध्य मुसहर, डोम, चमारजस्ता अतिविपन्न तथा दलित अनि मजदुर परिवार प्रभावित बनेका छन् । चिसोले कठ्यांग्रिएर जिल्लामा मानिसको मृत्यु समेत भइरहेको छ । हरिपुर नगरपालिकाको वडा नं. ६ लक्ष्मीपुर र ९ पिडारीमा ३ जनाको ज्यान गइसकेको छ ।
प्रभावितलाई चिसोबाट जोगाउन पालिका र अन्य सरोकारवाला निकायले कुनै वास्ता गरेका छैनन् । पूर्ण अधिकार प्राप्त स्थानीय तहले चिसोले पालिकाभित्रका वासी कठ्यांग्रिएर रहेको र केहीको मृत्यु भइसक्दा समेत न्यानो प्रदान गर्न चासो नदिएको भन्दै चर्को आलोचना भइरहेको छ ।