काठमाण्डौ । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् भवनमा शपथ खुवाएका हुन् ।
नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।
सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।
प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस सांसद टेकबहादुर गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यको रुपमा सपथ लिएका छन् । संसद सचिवालयका अनुसार दुवैजनाले बिहीबार ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराबाट शपथ लिएका हुन् ।
त्यस्तै सशस्त्र प्रहरीका असई थमन बिक हत्या अभियोगमा महतो प्रहरीको फरार सूचीमा रहेका व्यक्ति हुन् ।
२०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई खेतमा लखेटी–लेखेटी हत्या गरेको आरोपमा लक्ष्मी महतो कोइरी अहिले पनि फरार सूचीमा छन् । तर, निर्वाचनको मुखमा जसपा छाडेर एमाले प्रवेश गरेलगत्तै उनी महोत्तरी–१ बाट ‘सूर्य चिह्नवाहक’ उम्मेदवार बनेका थिए । सिट बाँडफाँट गर्दा महोत्तरी–१ एमालेको भागमा परेपछि कोइरी एमाले नै प्रवेश गरेर चुनाव लडेका हुन् । गठबन्धनको सहयोगीका रूपमा जसपाको समेत समर्थनमा उनी विजयी भएका थिए ।
संविधान जारी हुनुअघि मधेसमा सुरु भएको आन्दोलनमा सुरक्षार्थ खटिएका विकको हत्या कोइरीकै योजनामा भएको अभियोग छ । २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । घटनापछि थमनका दाजु प्रेमबहादुरले कोइरीसहित २८ जनाको नाम किटेर जाहेरी दिएका थिए ।
जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । आदेशविरुद्ध पुनरावेदन परेपछि जनकपुर उच्च अदालतले २०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्यायो र कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दियो ।