बर्दिबास । महोत्तरीको बर्दिबास उद्योग वाणिज्य सङ्घको अध्यक्षमा विष्णुबहादुर खड्का विजयी भएका छन् ।
सङ्घको कार्यसमिति अध्यक्षसमेत १३ पदका लागि मंगलबार बर्दिबास सेवा समितिको भवनमा मतदान भएको थियो । बुधवार सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार खड्काले ७३४ मत प्राप्तगरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद गौतमले ६१३ मत प्राप्त गरे ।
१२१ मतान्तरले खड्का विजयी भएका हुन् । अध्यक्ष पदका अर्का उम्मेदवार जोगेन्द्र श्रेष्ठले ३ मत मात्र प्राप्त गरे । प्रमुख निर्वाचन अधिकृत टीकाध्वज खड्काकाअनुसार १२ जना सदस्य पदका लागि २४ जनाको उम्मेदवारी परेकोमा खड्का प्यानलका आठ र गौतम प्यानलका चार सदस्यको जित भएको हो ।
विजयी सदस्यमा सन्तोषकुमार श्रेष्ठ ९०४, दीपक कार्की ८५८, सन्तोष सिग्देल ८५६, उत्तमकुमार श्रेष्ठ ८३३, रन्जीतराज ढुङ्गाना ७५० र शैलेश दाहालले ७४६ मत प्राप्त गरे । त्यस्तै, गुञ्जबहादुर कार्की (गोपाल) ७३०, सुरज खड्का ७२७, चन्द्रबहादुर खड्का (विनोद) ७१७, उषा ढकालले ६९६ मत प्राप्त गरी विजयी भएका छन् ।
मतगणनामा गौतम प्यानलका बेचुबहादुर बल र खड्का प्यानलका बद्रीप्रसाद हुमागाईँ दुवैले ६७४ मत प्राप्त गरी बराबरी भएपछि गोला प्रथा गराइएको थियो । गोला प्रथामा बेचु बहादुर विजयी भए । अध्यक्षलगायत विजयी उम्मेदवारलाई प्रमुख निर्वाचन अधिकृत खड्काले बुधबार विजयी भएको प्रमाणपत्र वितरण गरेका छन् । एक हजार ७६९ मतदाता रहेको बर्दिबास उद्योग वाणिज्य सङ्घको चुनावमा एक हजार ४७३ मत खसेको थियो ।