मलगंवा । सर्लाहीको हरिपुर नगरपालिकामा चिसोले कठ्यांग्रिएर २ साताको अवधिमा २ जना मुसहरको ज्यान गएको छ ।
हरिपुर नगरपालिका–९, पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका–६, लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्यांग्रिएर ज्यान गएको हो । स्थानीयका अनुसार कठ्यांग्रिएर ज्यान गएका रमेश र रामभगतले मदिरा पनि सेवन गर्थे ।
उनीहरुको मृत्युबारे स्थानीय प्रहरी प्रशासनमा भने कुनै जानकारी गराइएको छैन् । ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश माझी मंसिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेकोमा त्यहीँ चिसोले कठ्यांग्रिएर ज्यान गएको परिवारका सदस्यले बताएका छन् ।
केही वर्षअघि जनता आवास कार्यक्रम अन्तर्गत प्रदेश सरकारले जस्ताले छाएको २ कोठे घर निर्माण गरिदिएको थियो । २ वटा कोठामध्ये एउटा कोठा दाई मोती माझी र अर्को कोठा रमेशले अंशबण्डा गरेका थिए ।
एउटै कोठामा मृतक रमेश, उनकी श्रीमती चन्दु माझी, जेठो छोरा पंकज र बुहारी आँचल र कान्छो छोरा कृष्णनन्दनसहित ५ जना बस्दै आएका थिए । किरियापुत्री बसेका कान्छो छोरा १६ वर्षीय कृष्णनन्दन माझीले ओढनेओछ्याउने नभएकाले भुइँमा पराल ओछ्याएर सुत्दा बुवाको त्यही कठ्यांग्रिएर ज्यान गएको बताए ।
पिडारी बजारमा क्लिनिक संचालन गर्ने अहेब दिनेश साहले मंसिर २५ गते बिहान उपचारका लागि आफू पुग्दा रमेशको कठ्यांग्रिएर ज्यान गइसकेको बताए । रमेशका छिमेकी आशादेवी माझीले न्यानो नपाउँदा रमेशको कठ्यांग्रिएर ज्यान गएको र गाउँका अन्य मुसहरहरुको पनि लगाउने न्यानो कपडा र ओढनेओछयाउने नहुँदा समस्या रहेको बताए ।
हरिपुर नगरपालिका–९, पिडारीका वडाध्यक्ष विश्वनाथ रायले भने रमेश माझीको चिसोले कठ्यांग्रिएर मृत्युभएको बारे आफूलाई पनि कसैले जानकारी नगराएको बताएका छन् । उनले चिसो प्रभावितका लागि गैर–सरकारी संस्थासँग समन्वय गरी कम्बल बाँड्ने तयारी गरिरहेको जानकारी जनाए ।
यता, लक्ष्मीपुरका रामकेवल माझीले न्यानो ओढनेओछयाउने नहुँदा कठ्यांग्रिएर आफ्नो बुवा रामभगतको ज्यान गएको बताए । जनकपुरमा इँटा भट्टामा काम गर्ने रामकेबलले मंसिर २३ गते साँझ चिसोले कठ्यांग्रिएर बुवाको मृत्यु भएपछि घर आएर किरियापुत्रीमा बसेको सुनाए ।
रामकेवलको ५ जनाको परिवार अहिले फुसको छानो भएको कच्ची घरमा बसेर दैनिकी गुजारी रहेको छ । चिसोले कठ्यांग्रिएर रामभगत र रमेशको ज्यान गएको यत्तिका दिन भइसक्दा पनि अतिविपन्न दुवै परिवारलाई कसैले केही सहयोग गरेका छैन् ।
चिसो बढ्दै जाँदा मुसहर समुदाय निकै प्रभावित बनिरहेको छ । न्यानो कपडा र ओढनेओछयाउने नहुँदा मुसहर समुदायका मानिस पराल ओछयाएरै सुत्ने गरेका छन् ।
इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विजय कुँवरले चिसोले कठ्यांग्रिएर मानिसको मृत्यु भएकोबारे प्रहरीमा कुनै जानकारी नआएको बताए । उनले प्रहरीमा जानकारी आएमा मुचुल्का गरेर मृतकको शव पोष्टमार्टमका लागि पठाइने र त्यसपछि मात्रै मृतकको परिवारलाई नेपाल सरकारले दिने राहत मिल्ने बताएका छन् ।