काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी छन् । उनले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको लागि प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी हुन् ।
संविधानको धारा–७६ को उपधारा–१ अनुसार कुनै दलको बहुमत नपुगेपछि राष्ट्रपति भण्डारीले उपधारा–२ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आव्हान गरेकी हुन् । त्यसकालागि पुस १० गते साँझ ५ बजेसम्मको म्याद दिइएको छ ।
राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि आह्वान गरेका छन् ।
निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ दफा ६२ बमोजिम गत मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष पेश भएको थियो ।
राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्तिका लागि नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आह्वान गरेका छन् ।
आफ्नै नेतृत्वमा नयाँ सरकारः कांग्रेस
नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि गठबन्धन र अन्य दलहरुसँग संवाद थाल्ने निर्णय गरेको छ ।
बैठकले संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाउन केन्द्रीय सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समिति सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली रहेका छन् ।