जनकपुरधाम । विदेशमा रोजगारी गुमाएर फर्केका मधेश प्रदेशका नौ सय ८० जना युवालाई रोजगार सम्बन्धि तालिम प्रदान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमअन्तर्गत विदेशबाट फर्केका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमको प्रगति, समीक्षाबारे स्थानिय पालिका प्रमुखसंग गरेको अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशमा कृषि, निर्माण र पर्यटन क्षेत्रमा एक सय ६० घण्टाको रोजगारमुलक तालिम प्रदान गरिएको हो । युएनडिपीको सहयोगमा स्किल्स कार्यक्रममार्फत ९ सय ८० जनामध्ये नौ सय ६७ जनाले पुर्ण रुपमा तालिम लिएको युएनडिपीका राष्ट्रिय कार्यक्रम प्रबन्धक डा.मुकुन्दमणि खनालले जानकारी दिए ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद सुवेदीले एक सय ६० घण्टाको तालिम लिएका युवाहरुले स्वरोजगार हुन थालेको बताए । उनले अव तीनै तहका सरकारले मिलेर बेरोजगार युवालाई प्रोत्साहन स्वरुप अनुदान, सहुलियत दरमा कर्जा प्रवाहलगायत प्राविधिक सेवा दिनुपर्ने आवश्यकता औंल्याए ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मी प्रसाद भट्टराइले युवाहरुलाई स्वदेशमै सीप सिकाउन सके रोजगारमुलक व्यापार व्यवसायमा वृद्धि हुने विश्वास व्यक्त गरे । मुलुकमा अहिले रोजगारीको अवस्था नभएर अदक्ष कामदारहरु नेपालबाट विदेश पलायन भई रहेकाले यसलाई रोक्न युवाहरुलाई रोजगारमुलक सीप र तालिममा जोड दिनुपर्ने र श्रम बजारसंग समेत जोडन सक्नुपर्ने बताए ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सह सचिव डा.हरि लम्साल, पूर्व शिक्षा सचिव डा.रामहरि लामिछाने, सिटिइभिटी मधेश प्रदेश प्रमुख नागेन्द्र साहलगायतको उपस्थिती रहेको युएनडिपी स्किल्स कार्यक्रमका मधेश प्रदेश संयोजक दिपक शाह शंकरले जानकारी दिए ।