जलेश्वर । महोत्तरी प्रहरीले नक्कली नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य सीतामढी जिल्ला भदियन ग्रामपंचायतका २१ वर्षीय रमनकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । चौधरीको साथबाट ११ हजार नेपाली नक्कली नोट बरामद गरिएको महोत्तरीका प्रहरी नायब उपरिक्षक सन्तोष पोखरेलले बताए ।
गत बिहीबार जलेश्वर नगरपालिका ३ स्थित मलिवारा चौकमा सव्दुल अन्सारीको पसलमा नेपाली नोट साट्ने क्रममा चौधरीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको थियो ।
प्रहरीले खोजतलाश गर्दा उनीको साथबाट एक हजार दरका ११ थान नेपाली नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता समेत रहेका डीएसपी पोखरेलले बताए । पक्राउ परेका चौधरी प्रहरीको नियन्त्रणमा रहेका छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी पोखरेलले जानकारी दिए ।