मलगंवा । सर्लाहीको विभिन्न छ स्थानमा राखिएको निःशुल्क आँखा परीक्षण शिविरमा दुई हजार ३८३ जनाको आँखा परीक्षण गरिएको छ ।
हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न कार्यालय र सङ्घसंस्थासँग समन्वय गरी ठूलो सङ्ख्यामा आँखाका बिरामीलाई सेवा दिएको हो । गएको मङ्सिर २३ गतेदेखि शुक्रबारसम्म हरिवन, लालबन्दी, बागमती, हरिपुर, बरहथवा र गोडैतामा सञ्चालन गरिएको शिविरमा दुई हजार ३८३ जनाको बिनाशुल्क आँखा परीक्षण गरिएको सगुन बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक रवीन्द्र रानाले जानकारी दिए ।
छ ठाउँमा भएको शिविरमा फेला परेका मोतियाविन्दुका बिरामीमध्ये गोडैतामा २३९ जना र हरिवनमा २६३ जनाको मोतिया विन्दुको निःशुल्क नै शल्यक्र्रिया पनि गरिएको प्रवन्धक रानाले बताए । उनका अनुसार शुक्रबार नै सकिने मोतिया विन्दुको ‘अप्रेशन क्याम्प’ बिरामीको अधिक चापका कारण शुक्रबार एक दिन थप गरी सम्पन्न गरिएको हो ।
डार्क फाउण्डेसन र पार्टनर फर इक्यिूटिको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ भरतपुर आँखा अस्पताल चितवनको प्राविधिक सहयोगमा आयोजित शिविरमा मोतिया विन्दुका बिरामीलाई शल्यक्र्रियापश्चात चश्मा र औषधि समेत निःशुल्क वितरण गरिएको छ ।
सगुनका अध्यक्ष केशवप्रसाद ढकालले यस प्रकारको सेवामूलक कार्यमा संस्था निरन्तर लागिपरिरहने बताउँदै प्राविधिक सहयोगका लागि भरतपुर आँखा अस्पतालका चिकित्सक र अस्पतालप्रति कृतज्ञता व्यक्त गरेका छन् ।