हरिवन । सर्लाहीका उखु किसानले यो वर्ष उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपैयाँ कायम गर्न माग गरेका छन् ।
मिलगेट उखु उत्पादक समिति सर्लाहीमा आवद्ध उखु किसानले जिल्लाकै ठूलो इन्दुशंकर चिनी उद्योग हरिवनमा ज्ञापन पत्र बुझाउँदै क्रसिङ सिजन २०७९÷०८० मा उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपैयाँ कायम गर्न माग गरेका हुन् । केही वर्षदेखि चिनीको मूल्य लगातार वृद्धि भइरहेकाले चिनीको मूल्य वृद्धि अनुसार उखुको मूल्य वृद्धि गर्न किसानले माग गरेका छन् ।
कृषि तथा पशुपंछी विकास मन्त्रालय, उद्योग मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई बोधार्थमा राखेर उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपाललाई बुझाइएको ज्ञापन पत्रमा उखु किसानहरु घाटा सहन नसकी उखु खेतीबाटै पलायन हुन थालेकाले यसतर्फ गम्भीर बन्न ध्यानाकर्षण गराइएको छ ।
ज्ञापन पत्र बुझाउन अगुवा किसानहरु समेत रहेका निवर्तमान प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), मिलगेट उखु उत्पादक समितिका कार्यवाहक अध्यक्ष राजकुमार उप्रेती, कांग्रेस हरिवनका नगर सभापति रामशरण उप्रेती, एमाले हरिवनका अध्यक्ष सीताराम पोखरेल, ओमबहादुर सुवेदी, विनोद कार्कीलगायत उद्योगमा पुगेका थिए ।
जिल्लामा रहेका तीन उखुमिल मध्ये हरिवन नगरपालिका– ११ स्थित रहेको इन्दु शङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानको भुक्तानी नदिएपछि किसान चिन्तित छन् ।
जिल्लामा रहेका चिनी मिल पनि समयमा सञ्चालन नहुने र उखु बेचेको लामो समयसम्म पनि भुक्तानी नपाउने चिन्तामा रहेका जिल्लाका किसान स्थानीय सक्खर उद्योगलाई उखु बेचेर खाली भएको जमिनमा मुसुरो, गहुँ र धनियाँ लागाउन थालेका छन् ।
इन्दुशङ्कर चिनी उद्योग पुसको पहिलो साताबाट सञ्चालन गर्ने तयारी भइरहेको भए पनि अन्नपूर्ण सुगर मिल र महालक्ष्मी सुगर मिल विगतका वर्षमै खरिद गरेको उखु उत्पादक किसानको रकम भुक्तानी गर्न नसकेर सञ्चालन हुने नहुने भन्ने दोधारमा रहेका छन् । किसानहरुले समयमै उखु बिक्री गर्न नपाउँदा खेतमा अन्य बाली लगाउन नपाउने हुँदा सक्खर उद्योगलाई उखु बेचेर भए पनि समयमै आफ्नो खेत खाली गरी अन्य बाली लगाउँदै छन् ।
चिनी मिल समयमै सञ्चालन नहुने र सञ्चालन भइहाले पनि भुक्तानी कहिले पाउने भन्ने टुङ्गो नहुने कारणले किसानले खेतमा अर्काे बाली पनि लगाउन पाएको छैन् । भुक्तानीको चिन्ता सधैँ रहिरहने गरेका कारण पनि किसान सक्खर उद्योगलाई उखु बिक्री गर्न थालेका हुन् ।