सर्लाही । बरहथवा नगरपालिकाभरि हाल करिब छ वटा सक्खर उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । उद्योग सञ्चालकले पनि सक्खरको मागअनुसार उखुुको मूल्य निर्धारण गर्दै आएका छन् । उत्पादित सक्खरको खपत कम भयो भने उखुको मूल्य पनि रु दुई सय ७० सम्म प्रति क्विन्टल हुन्छ । खपत बढी भयो भने रु चार सयसम्ममा सक्खर उद्योगले उखु किन्ने गरेका छन् ।
एघार क्विन्टल उखु पेलेर एक क्विन्टल सक्खर उत्पादन हुँदै आएको बरहथवा–११ का सक्खर उत्पादक व्यवसायी शत्रुधन रायले बताए । उनका अनुसार उत्पादित सक्खरमध्ये कालो सक्खरको रु पाँच हजार र सेतो सक्खरको रु पाँच हजार पाँच सयदेखि छ हजार दुई सय प्रति क्विन्टल बजार मूल्य रहेको छ । आफ्नो उद्योगमा प्रत्यक्ष रूपमा छ जनाले दैनिक ज्यालीदारीमा रोजगारीसमेत पाएका रायले बताए ।
भारतबाट अवैध रूपले आउने सक्खरका कारण व्यवसाय नै धराशायी बन्दै गएको छ, सक्खरले बजार मूल्य नपाउँदा किसान र व्यवसायी दुवैले समस्या झेल्दै आएको छ, बरहथवा–११ स्थित सञ्चालनमा रहेको सक्खर उद्योगका सञ्चालन शिवचन्द्र रायले भने । भारतबाट आएको सक्खर सस्तो मूल्यमा बिक्री हुँदा आफूहरूले पनि सोहीअनुसार बेच्नु परेकाले लगानीअनुसारको मूल्य आउन नसकेको उनको गुनासो छ ।