जनकपुरधाम । निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित आइतबार पत्राचार गरेको छ । ती दलहरूले यही मङ्सिर २६ गते सोमबार(आज) साँझ ४ बजेसम्म सच्याइएको सूची बुझाउनुर्नेछ ।
प्रतिनिधिसभातर्फको नाम सिफारिस गर्न यही मङ्सिर २४ गते ४ बजेसम्म समय दिइएकामा दलहरूले नमावली सिफारिस गरेका थिए । पेस भएकामध्ये कतिपय दलले समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेको पाइएको छ ।
नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने उक्त प्रणालीतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए ।
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ मतगणना सकिएपछि आयोगले यही मङ्सिर २२ गते थ्रेसहोल्ड कटाउने दलहरूलाई बन्दसूचीमा समावेश समावेशी समूह मिलाएर नाम पठाउन पत्राचार गरेको थियो ।
निर्वाचन आयोगले समानुपातिक मतगणना सम्पन्न गरेपछि समानुपातिकतर्फको उम्मेदवार निर्वाचित गर्न दलहरूलाई बिहीबार तीन दिनको समय प्रदान गरेको थियो । शनिबारसम्म सबै दलले समानुपातिकतर्फको उम्मेदवार निर्वाचित गर्न नामावली बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आयोगले उक्त नामावली उपर जाँच गर्ने, सबै क्लष्टर तथा महिलाको सङ्ख्या पुगे÷नपुगेको सम्बन्धमा हेर्ने पौडेलले बताए । दलहरूको समानुपातिक सूची केन्द्र र प्रदेश गरी आठ ठाउँमा छ । आयोगले आवश्यक जाँच र दलहरूको तयारीअनुसार सबै कार्य सम्पन्न गरी सम्भवतः सोमबार समानुपातिक सांसदको नामावली सार्वजनिक गर्ने जनाएको छ ।
यी सबै प्रक्रिया सम्पन्न गरी यही मङ्सिर अन्तिमसम्ममा प्रतिनिधिसभाको राष्ट्रपतिलाई र प्रदेशमा सम्बन्धित प्रदेश प्रमुखलाई निर्वाचनको विवरण बुझाउने आयोगको लक्ष्य रहेको प्रवक्ता पौडेलले बताए । त्यसपछि नयाँ सरकार गठन र नयाँ संसद् बैठकको तयारी प्रारम्भ हुनेछ ।