काठमाण्डौ । जनमत पार्टीले समानुपातिकमा पाएको सिटमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको नामावली टुंगो लगाएको छ । काठमाडौंको कोटेश्वरमा सम्पन्न केन्द्रीय समितिको बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।
केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभामा पाँच जनाको नाम टुंगो लगाएको हो । निर्वाचन आयोगमा पेस गरेको सांसदको क्लस्टरमा चारजना महिला समेटिएका छन् भने एकजना मुस्लिम समुदायका छन् ।
धनुषाबाट अनितादेवी साह, मोरङबाट सोनु मुर्मु, सिराहाबाट विनिताकुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाट अब्दुल खान समानुपातिकतर्फका सांसद बनेका छन् । दुईजना आदिवासी जनजाति, एक मधेसी, एक खस–आर्य र एकजना मुस्लिम समुदायको प्रतिनिधित्व रहेको जनमत पार्टीका सचिव सञ्जयकुमार यादवले जानकारी दिए ।
यस्तै, केन्द्रीय समिति बैठकले मधेस प्रदेशतर्फ समानुपातिकबाट बाँडफाँड गरी प्राप्त गरेको सिटमा नाम टुंगो लगाएको हो । बैठकले निर्वाचन आयोगले गरेको पत्राचारकै आधारमा क्लस्टर छुट्याउँदै सातजनाको नाम टुंगो लगाएको हो ।
मधेसी महिलाबाट बबिता राउत, अल्पसंख्यकबाट पार्टीका महासचिव चन्दन सिंह, दलितबाट रञ्जुकुमारी खंग (खत्वे), मधेसी महिलामा अनिताकुमारी साह, मधेसी पुरुषमा पार्टीका उपाध्यक्ष वसन्तकुमार कुशवाह, मुस्लिममा हसिना खातुन र आदिवासी जनजातिमा भाग्यश्रीकुमारी चौधरीलाई पठाउने निर्णय गरेको केन्द्रीय सचिव यादवले बताए । यस्तै, लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ पाएको दुई सिटमा खस–आर्यबाट सुमन रायमाझी र आदिवासी जनजातिबाट गीता गुरुङको नाम टुंगो लगाएको छ ।
जनमत पार्टीले संसदीय दलको विधान बहुमतले पारित गरेको छ । केन्द्रीय समितिको बैठकले तीनवटा विषयमा छलफल गरी संसदीय दलको विधान पारित गरेको केन्द्रीय समिति सदस्य निर्मल मण्डलले बताए ।
केन्द्रीय समितिको बैठकमा सचिव सञ्जयकुमार यादवले संसदीय दलको विधान, समानुपातिक उम्मेदवारहरूको नामावली र चुनावी समीक्षासँगै आगामी कार्यनीति सम्बन्धमा प्रस्ताव पेस गरेका थिए । पेस गरिएका प्रस्तावमा बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्दै बहुमतले पारित गरेको केन्द्रीय सदस्य मण्डलले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य
अनितादेवी साह– धनुषा,
सोनु मुर्मु–मोरङ,
विनिताकुमारी सिंह –सिराहा
गोमा सापकोटा –महोत्तरी
अब्दुल खान–बर्दिया
प्रदेशसभा सदस्य
चन्दन सिंह, रञ्जुकुमारी खंग (खत्वे), अनिताकुमारी साह, वसन्तकुमार कुशवाहा, हसिना खातुन र भाग्यश्री कुमारी चौधरी